कुनै समय नेपालमा चर्चित रहेको एसयूभी नयाँ डिजाइनमा आउने

काठमाडौं । जापानी कार निर्माता मित्शुवीसीको चर्चित मोडल पजेरो नयाँ डिजाइनमा आउने भएको छ । जापानी निर्माताले यसअघिको डिजाइनमा परिवर्तन गरेर नयाँ जेनेरेशन पजेरो ल्याउन लागेको हो ।

कम्पनीले यसको अगाडि भागमा ब्यापक परिमार्जन गरेको छ । कम्पनीले टी आकारमा दिएको एलइडी डे टाइम रनिङ लाइट, त्यसको ठिक माथि दिइएको थ्री आई हेडल्याम्प, ठूलो ग्रिलको बीचमा दिइएको मित्शुवीसीको लोगोले नयाँ एसयूभीलाई आकर्षक देखाएको छ ।

बक्सी डिजाइनमा तयार भएको नयाँ पजेरो आधुनिक फिचरहरुले भरिपूर्ण हुनेछ । ‘लग्जरी एसयूभी किन्नेहरु’लाई मध्येनजर गर्दै आउन लागेको एसयूभीमा सुरक्षाको लागि अब्बल फिचरहरु रहनेछन् ।

विश्व बजारमा ल्याण्डक्रुजर एलसी-३०० सँग प्रतिस्पर्धा गरेगरी आउन लागेको नयाँ पजेरोमा टुइन टर्बो भी-सिक्स इन्जिन रहने छ । फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने नयाँ पजेरो ल्याडर फ्रेममा आधारित रहेर बन्नेछ ।

रेनो-निसान-मित्शुवीसी एलाइन्सले प्रयोग गर्दै आएको सीएमएफ-सी/डी आर्किटेक्चरमा यसलाई बनाउने छ । कम्पनीले बजारमा आउने मितिका बारेमा कुनै जानकारी नदिएपनि सन् २०२७ मा मात्रै नयाँ पजेरो बजारमा आउने अनुमान गरिएको छ ।


Back_to_top