इलेक्ट्रीक गाडीले तान्छ वा तान्दैन भन्दै २ वर्ष अगाडिसम्म बहस गर्नेहरु आज यसको पावर देखेर अचम्बित हुने गरेका छन् । इलेक्ट्रीक सवारीसाधनको संचालन खर्च मात्र कम होइन यसमा रहेको मोटर कम्बस्चन इन्जिन भन्दा पावरफुल हुने गरेको छ ।
नेपाल सरकारले त यस्ता सवारीसाधन आयातमा अत्यन्त कम राजस्व लिइरहेको छ भने यही उत्पादन गर्ने हो भने थप सुविधा दिन तयार रहेको बताई रहेको छ । यस्तोमा हामी तपाईलाई विश्वकै तिब्रगतिमा गुड्ने इलेक्ट्रीक बाइकको बारेमा जानकारी दिदैछौं ।
ब्रिटेनको स्टार्टअप कम्पनी एआरसीले बजारमा ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल ‘भेक्टर’ संसारकै तिब्रगतिमा गुड्ने इलेक्ट्रीक मोटरसाइकल हुने कम्पनीले दाबी गरेको छ ।
केही समयअघि भएको गुडवुड फेस्टिवल अफ स्पीडमा उक्त मोटरसाइकललाई कम्पनीले प्रदर्शन गरिएको थियो । अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार नयाँ भेक्टर २०२० जुन महिना सम्ममा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
उक्त मोटरसाइकल ह्यान्ड क्राफ्टेड हुने भएकोले ३९९ युनिट मात्र निर्माण गरिनेछ । सो बाइकमा एलइडी हेडलाइट, क्लचलेस सिंगल गियर ट्रान्समिसन, सेफ्टीको लागि एन्टि लक ब्रेकिङ सिस्टम, ट्रयाक्सन कन्ट्रोल र अलग अलग राइडिङ मोड जस्ता फिचर रहेको छ ।
यसमा दिइएको ३९९ भोल्टको इलेक्ट्रीक मोटरले १४० बीएच पावर र ८५ एनएम टर्क उत्पादन गर्छ । यसले एक पटकको फुलचार्जमा १९० देखि २७० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
मोटरसाइकललाई चलाउन सुरुको २.७ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको रफ्तारमा पुर्याउन सकिने कम्पनीले दाबी गरेको छ ।
यसको मूल्य करिब ९० हजार पाउन्ड रहने अनुमान अनलिमिटेड मोटरसाइकिलिङले गरेको छ ।

