काठमाडौं । अबको केही दिन भित्र नै दुई नयाँ दुई पाङ्ग्रे साधन नेपाल आउने भएको छ । बजाज र एथरले आफ्नो नयाँ मोडल नेपाल ल्याउन लागेका हुन् ।
एथर इनर्जीले एथर ४५० को सस्तो भेरियन्ट नेपाली बजारमा ल्याउन लागेको छ । साथै, बजाजले पल्सर एन १५० पनि नेपाल ल्याउने भएको हो ।
यी दुवै कम्पनीले मे महिनाको अन्त्यसम्ममा मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेका छन् । दुवै कम्पनीले आफ्नो सोशल मिडिया मार्फत प्रचारप्रसार पनि सुरु गरेका हुन् ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले बजाज पल्सर एन १५० ल्याउने भएको कम्पनीले श्रोतले जानकारी दिएको छ ।
त्यस्तै एथर इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता बैद्य्ज इनर्जीले एथर ४५० एस यही मे महिनाको अन्त्यसम्ममा ल्याउने जनाएको छ ।
पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छन् ।
नेपाली बजारमा यसको मूल्य कति हुन्छ भन्ने बारेमा अहिले यकिन नभएपनि अन्य प्रतिस्पर्धी मोडलको तुलनामा निकै आकर्षक हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, बैद्य्ज इनर्जीले ल्याउने एथर ४५० एस दुई भेरियन्टमा नेपाल आउने छ । एथर ४५० एसमा एक्सकै समान फिचर उपलब्ध हुनेछ । एस भेरियन्टमा भने टच स्क्रीन डिस्प्ले उपलब्ध हुने छैन ।
यसका अलावा अन्य फिचर समान हुने यो स्कुटरको मूल्य एक्स भेरियन्टको भन्दा केही कम हुने अनुमान गर्न सकिन्छ । एथर ४५० एस २.९ किलोवाट क्षमताको मात्रै आउने छ ।
यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यी स्कुटरले सिंगल चार्जमा ९५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

