भारतीय अटो बजारमा उच्च गिरावट, कुन ब्रान्डकाे कति बजार हिस्सा

भारतीय बजारमा चारपाँग्रे सवारी बिक्री गरिरहेका अधिकांश कम्पनीको व्यापारमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०१९/२० को अर्धवार्षिक अवधिमा अधिकांश कम्पनीले आफ्नो बिक्री र बजार हिस्सा गुमाउका छन् ।

भारतीय अटो क्षेत्रमा जायन्ट मानिएका मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, टोयोटा, टाटा, फोर्ड, फक्सवागन लगायतका कम्पनीको व्यापारमा निरन्तर ह्रास आइरहेको छ । 

भारतीय बजारमा स्थापित विभिन्न १४ कम्पनीले  २०१८/१९ को ६ महिनामा १७ लाख १९ हजार ९४५ युनिट कार बिक्री गरेका थिए । तर, चालु आर्थिक वर्ष २०१९/२० को सोही अवधिमा १३ लाख २१ हजार ८३३ युनिटमा सिमित भएको छ । जुन २३ प्रतिशतले गिरावट हो । 

गतवर्षको ६ महिनामा ९ लाख ८ हजार ५३० युनिट कार बिक्री गरेको मारुती सुजुकीको व्यापारमा २७ प्रतिशतले गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ६ लाख ६३ हजार ५२२ युनिट मात्रै कार बिक्री गर्न सकेको छ । 

गत वर्ष कम्पनीको बजार हिस्सा ५२.८ प्रतिशत रहेकोमा यस वर्ष २.६ प्रतिशतले घटेर ५०.२ प्रतिशतमा झरेको छ । 

मारुतीपछि दोस्रो स्थानमा रहेको हुन्डाईको व्यापारमा ११ प्रतिशतले गिरावट आएको भएतापनि कम गिरावटका कारण मार्केट शेयर भने २.६ प्रतिशतले वृद्धि भएको छ । 

हुन्डाइले गत आर्थिक वर्षको ६ महिनामा २ लाख ७४ हजार  १७७ युनिट कार बिक्री गरेकोमा चालु आवको ६ महिनामा २ लाख ४४ हजार ४३४ युनिट कार बिक्री गरेको छ । 

यस्तै, गत वर्षको यही अवधिमा ६.५ प्रतिशत मार्केट शेयर भएको महिन्द्रा कम्पनीले यो वर्ष १.० प्रतिशतले बजार हिस्सामा वृद्धि गरेको छ । यद्यपी, कम्पनीको व्यापार भने ११ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा १ लाख १२ हजार २३३ युनिट कार बिक्री गरेको महिन्द्राले चालु आर्थिक वर्षको ६ महिनामा ९९ हजार ३४२ युनिट कार बिक्री गरेको छ । 

यस्तै,  २०१८ को ६ महिनामा ७९ हजार ५६३ युनिट कार बेचेको टोयोटा कम्पनीको व्यापार २०१९ मा १९ प्रतिशतले घटेर ६४ हजार १८० युनिटमा सिमित भएको छ । तर, कम्पनीको मार्केट शेयर भने ४.६ प्रतिशतबाट बढेर ४.९ प्रतिशतमा पुगेको छ । मार्केट शेयरको आधारमा  छैठौं स्थानमा रहेको यो कम्पनी दुई स्थान माथि उक्लिएर चौथो भएको हो । 

आफ्नो बिक्रीमा ४१ प्रतिशतले ह्रास बेहोरेको टाटा कम्पनीको मार्केट शेयर १.५ प्रतिशतले घटेको छ । चौथौं स्थानबाट एक तह तल पुगेको यो कम्पनीले २०१८ को यो अवधिमा १ लाख ६ हजार ८६५ युनिट कार बिक्री गरेको थियो । २०१९ को ६ महिनामा कम्पनीले जम्मा ६२ हजार ८४४ युनिट कार मात्रै बिक्री गर्न सकेको छ । 

यस्तै, ३६ प्रतिशत गिरावट ब्यहोरेको होन्डाको मार्केेट शेयर ०.९ प्रतिशतले घटेको छ  । गत आर्थिक वर्षको ६ महिनामा ९४ हजार ४८६ युनिट कार बेचेको यो कम्पनीले चालु आवको ६ महिनामा मात्रै ६० हजार ८७० युनिट कार बिक्री गरेको छ ।

यस्तै, भारतीय बजारमा २७ प्रतिशत गिरावट खेपेको अर्काे कम्पनी फोर्डको मार्केट शेयर ०.२ प्रतिशतले घटेको छ । व्यापारमा १२ प्रतिशत ह्रास आएको रेनोको मार्केट शेयर ०.३ प्रतिशतले बढ्दा फक्सवागनले २० प्रतिशतले बिक्री गुमाएको छ । अन्य कम्पनीको तुलनामा निसानको सबैभन्दा धेरै ५२ प्रतिशतले बिक्री घटेको छ । 


Back_to_top