काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को ४ महिना कोभिड १९ को कारण पूर्णरुपमा बन्द भएपनि गाडी विक्रेता कम्पनीहरुको कुल विक्री सन्तोषजनक देखिएको छ । विशेषत आर्थिक वर्ष २०७६/७७ मा कमर्शियल र प्यासेन्जर गाडी विक्री गर्ने कम्पनी सिप्रदी ट्रेडिङ सर्वाधिक धेरै रकमको विक्री गर्न सफल भएको छ । कम्पनीले गत अर्थिक वर्षमा १९ अर्व ७२ करोड ५५ लाख २२ हजार ४०५ रुपैयाँ बराबरको विक्री गर्न सफल भएको हो ।
सिप्रदी ट्रेडिङले नेपाली बजारमा टाटाका कार, सेमिकमर्शियल र कमर्शियल गाडीहरु विक्री गर्दै आएको छ । साथै, कम्पनीले ल्यूव, व्याट्री लगायतको सामान आयत गरेर विक्री वितरण गर्दै आएको छ । सिप्रदीले देशभर आफ्नो नेटवर्क विस्तार गर्दै सेवा प्रदान गर्दै आएको छ ।
सवारी साधन धेरै विक्री गर्ने सूचीको दोस्रो स्थानमा गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल १६ अर्ब ७३ करोड २९ लाख १६ हजार २६ रुपैयाँको कारोवार गरेको हो । कम्पनीले बजाजका मोटरसाइकल तथा थ्रि ह्वीलर्स नेपालमा नै एसेम्बल गर्दै आएको छ । साथै, ल्यूव, टायर लगायका सामान आयत गरेर विक्री गर्दै आएको छ ।

तेस्रो धेरै कारोवार गर्ने कम्पनी स्याकार ट्रेडिङ प्रालि भएको छ । ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङले गतवर्ष ११ अर्व ४५ करोड २६ लाख ५३ हजार ९९१ रुपैयाँको कारोवार गरेको हो । स्याकार ट्रेडिङले होन्डाका मोटरसाइकल तथा कार नेपाल ल्याएर विक्री गर्दै आएको छ । साथै, होन्डाका जेनेरेटर लगायतका उत्पादन समेत कम्पनीले विक्री गर्दै आएको छ ।
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि समग्र अटोमोवाइल क्षेत्रमा चौथो धेरै कारोबार गर्ने कम्पनी बनेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९ अर्ब ८९ करोड १६ लाख ३४ हजार ८६६ रुपैयाँ बराबरको कारोबार गरेको हो । कम्पनीले हुन्डाईका कारहरु नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा अग्नी इन्कर्पोरेट प्रालि पाँचौ धेरै रकमको कारोबार गर्ने कम्पनी बनेको छ । महिन्द्राका कार तथा एसयूभी नेपालमा विक्री गर्दै आएको अग्नीले ९ अर्व ४७ करोड ८८ लाख १५ हजार ६९८ रुपैयाँको कारोबार गरेको हो ।
यामाहा र स्कोडाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले ८ अर्व ८२ करोड ६७ लाख ७३ हजार ९३७ रुपैयाँको कारोबार गरेको छ । त्यसैगरि टीभीएस मोटरसाइकलको आधिकारीक वितरक जगदम्बा मोटर्सले ६ अर्ब ६४ करोड ८० लाख ७५ हजार ३२८ रुपैयाँको कारोबार गरेको ठूला करदाता कार्यालयको तथ्यांकमा उल्लेख छ ।

