सार्वजनिक भयो बजाजको पहिलो सीएनजी मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले आफ्नो पहिलो सीएनजी मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले शुक्रबार भारतीय बजारमा आफ्नो पहिलो सीएनजी मोटरसाइकलका ३ भेरियन्ट सार्वजनिक गरेको हो । जसमा फ्रिडम १२५ को एनजी ०४ ड्रम, एनजी ०४ ड्रम एलईडी र एनजी ०४ डिस्क एलईडी रहेका छन् ।

कम्पनीले फ्रिडम १२५ एनजी ०४ ड्रमको मूल्य ९५ हजार, एनजी ०४ ड्रम एलईडीको १ लाख ५ हजार र एनजी ०४ डिस्क एलईडीको १ लाख १० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ ।

बजाजको पहिलो सीएनजी मोटरसाइकलमा २ किलोग्राम क्षमताको सीएनजी ट्याकंसंगै १२५ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । यस मोटरसाइकलको अधिकतम पावर ९.५ पीएस रहेको छ भने यसको टर्क पावर ९.७ एनएम रहेको छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

दुई फ्युल अप्सनमा सार्वजनिक भएको फ्रिडम १२५ मोटरसाइकल १ केजी सीएनजीको प्रयोगमा १०२ किलोमिटर चलाउन सकिने छ । त्यस्तै, १ लिटर पेट्रोलको माध्यमबाट भने यस मोटरसाइकलले ६५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले बताएको छ । दुवै फ्युलको माध्यमबाट यस मोटरसाइकलले ३३० किलोमिटरसम्मको रेन्ज दिने पनि कम्पनीको दाबी छ ।

यस मोटरसाइकलको ११ ओटा सेफ्टी टेस्ट गरिएको छ । यस मोटरसाइकलमा सीएनजी सिलिन्डर सीटको मुनि राखिएको छ । त्यस्तै, फ्रिडम १२५ मा लामो सीट, आकर्सक ग्राफिक डिजाइन, फ्युल परिवर्तनका लागि स्वीच सिस्टम दिइएको छ ।

यस मोटरसाइकलमा एलईडी हेड्ल्याम्प, ब्लुटूथ कनेक्टिभिटी, एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल, ट्युबलेस टायर, १७ इन्चको ह्वील, फ्रन्टमा डिस्कब्रेक र रियरमा ड्रमब्रेक, सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक रहेको छ ।

फ्रिडम १२५ मोटरसाइकल ७ कलर अप्सनमा सार्वजनिक भएको छ । कम्पनीले यसको बुकिङ समेत खुला भएको जनाएको छ । मोटरसाइकल बुकिङ गर्न चाहने ग्राहकले बजाजको डिलर अथवा अनलाइनको माध्यमबाट बुकिङ गर्न सक्ने छन् ।


Back_to_top