नयाँ फिचरसहित आयो बजाजका दुई मोटरसाइकल

काठमाडौं । भारतीय दुई पाङ्ग्रे साधन निर्माता कम्पनी बजाज अटोले भारतीय बजारमा दुई नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले आफ्नो सफल मोडल एन सिरिज अन्तर्गत १५० सीसी र १६० सीसी मोटरसाइकलमा थप फिचर दिएर ल्याएको हो ।

कम्पनीले दुबै मोटरसाइकलको वेस भेरियन्ट र टप भेरियन्ट बनाएर चार भेरियन्टमा सार्वजनिक गरेको छ । दुबै एन सिरिज नयाँ मोटरसाइकलमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ टेक्नोलोजी र इक्युप्मेन्ट अपग्रेड भएको हो ।

नयाँ डिजिटल इन्स्ट्रुमेन्टमा रियल टाइम, फ्युल इफिसियन्सि, माइलेज, डिस्टेन्स टू एम्पटी डाटा हेर्न सकिन्छ ।

त्यस्तै, बजाज राइड कनेक्ट एपको माध्यमले ब्लुटुथ कनेक्टिभिटीका साथै राइडरले मोवाइल कल उठाउन र नोटिफिकेसन अलर्ट समेत सजिलै पाउने छन् ।

बजाज पल्सर एन १५० मा नयाँ एलसीडी ड्यास् बोर्ड, डुवल डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ भने, पल्सर एन १६० मा डुवल डिस्क ब्रेकसँगै ड्यूल च्यानल एबीएस पाउन सकिन्छ ।

यी दुबै मोटरसाइकलमा फरक इन्जिन छ । एन १५० मा १४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन छ । उक्त इन्जिनले अधिकतम १४.५ ब्रेकहर्स पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी, एन १६० मा १६५ सीसी सिंगल सिलिन्डर इन्जिन छ । यस इन्जिनले अधिकतम १७ ब्रेकहर्स पावर र १४.३ एनएमको टर्क उत्पन्न गर्छ ।

भारतीय बजारमा एन १५० वेस भेरियन्ट मोटरसाइकलको मूल्य १ लाख १८ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य १ लाख २४ हजार रुपैयाँ (एक्स शोरुम) तोकिएको छ । एन १६० वेस भेरियन्टको १ लाख ३१ हजार रुपैयाँ र एन १६० टप भेरियन्टको १ लाख ३३ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण भएको हो ।

केही महिनापछि नेपाली बजारमा यी दुबै मोटरसाइकल उपलब्ध हुने सहजै अनुमान लगाउन सकिन्छ ।


Back_to_top