काठमाडौं । दुई चिनियाँ ब्राण्डले नेपाल ल्याएको विद्युतीय कार भन्सार नाकामा आइपुगेको छ । केरुङ नाकामा आइपुगेको दुई विद्युतीय कार केही दिन भित्रै नेपाली बजारमा बिक्री सुरु हुन लागेको हो ।
चिनियाँ ब्राण्ड स्काइवेल र जीएसी एवोनका उत्पादन भन्सारबाट छुट्ने क्रममा छन् । यी दुबै ब्राण्ड नेपालको लागि विल्कुलै नयाँ हुन् ।
स्काइवेलले भदौमा भएको नाडा अटो शोमा नै आफ्नो प्रिमियम मोडलको बुकिङ खुल्ला गरेको थियो । कम्पनीले १ करोड ९ लाख मूल्य राखेर स्काइवेल एसयूभीको बुकिङ लिएको थियो । यसलाई जी मोटर्सले नेपाल ल्याएको हो ।
अर्को चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको इलेक्ट्रीक ब्राण्ड एवोनको प्रिमियम ह्याचव्याक एवोन वाई पनि दुई साता अगाडि नै भन्सार आइपुगेको हो । एवोन ब्राण्ड सिजी मोटर्सले नेपाल ल्याएको हो ।
जी मोटर्सले आफ्नो भक्तपुरमा रहेको कार्यालयसँगै शोरुम संचालनमा ल्याउन तयार गरेको छ । साथै, चाँडै उपत्यका बाहिर पनि स्काइवेलको गाडीहरु उपलब्ध हुनेछन् ।
सिजीले भने काठमाडौंको थापाथलीमा शोरुम निर्माण गरिरहेको छ । कम्पनीले शोरुम निर्माण सम्पन्न गरेपछि आधिकारीक ब्राण्ड लन्चिङ कार्यक्रम गर्न सक्ने देखिन्छ । तर, उसले शोसल मिडियामा भने जीएसी एवोनको प्रचारप्रसार सुरु गरेको छ ।


