अर्को इलेक्ट्रीक ह्याचव्याक नेपाल बोर्डरमा, रोचक बन्दै प्रतिस्पर्धा

काठमाडौं । विद्युतीय ह्याचव्याक कारको सेग्मेन्टमा अर्को नयाँ मोडल नेपाल आउने भएको छ । अहिले बीवाइडी डल्फीन र एमजी फोरले प्रतिस्पर्धा गरिरहेको सेग्मेन्टमा जीएसी एवोन वाई मोडल थपिन लागेको हो ।

ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)को इलेक्ट्रीक ब्राण्ड एवोनको उत्पादन वाई मोडल केरुङ नाकामा आइपुगेसँगै नयाँ प्रतिस्पर्धी थपिने भएको हो । बीवाइडी डल्फीन र एमजी-४ को सिधा प्रतिस्पर्धी एवोन वाईको मूल्य कति रहन्छ भन्ने विषयले प्रतिस्पर्धालाई रोचक बनाउने छ ।

जीएसीको आधिकारीक बिक्रेता सिजी मोटर्सले आफ्नो पहिलो मोडलकै रुपमा एवोन वाई ह्याचव्याक ल्याएको हो । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा बढ्दो बजार देखेसँगै कम्पनीले ‘एवोन वाई’ मोडल मगाएको हो ।

यस्तो छ एवोन-वाई

तिब्र गतिमा बजार बिस्तार गरिरहेको जीएसी एवोन चीनमा चल्तीको ब्राण्ड हो । कम्पनीको सर्वाधिक बिक्री हुने मोडल पनि एवोन-वाई नै हो ।

यूवाहरुलाई केन्द्रमा राखेर तयार पारिएको एवोन वाईको लम्बाई ४४१० एमएम, चौडाई १८७० एमएम र उचाई १६४५ एमएम छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा उपलब्ध एवोन-वाईको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ । नेपालमा कुन साइजको ग्राउन्ड क्लियरेन्समा आएको छ कम्पनीले कुनै जानकारी दिएको छैन ।

कम्पनीले यसमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि यसमा पाउन सकिन्छ ।

जीएसी एवोन वाईमा ५१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ४३० किलोमिटर गुडाउन सकिन्छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ ।


Back_to_top