काठमाडौं । हाम्रा राजमार्गमा बनेका चार्जिङ स्टेशनमा गाडी चार्ज गर्नेको लामो लाइन लाग्न थालेको छ । विशेषगरी स्लो चार्जिङ गाडीहरूले थप समस्या दिएको देखियो ।
पूर्वदेखि पश्चिमसम्म नै नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको डीसी फास्ट चार्जिङ स्टेशनमा गाडीको लामो लाइन देख्न सकिन्छ । त्यसमा पनि १२ देखि १४ किलोवाटको स्पीडमा मात्रै गाडीहरूले चार्ज लिएको देख्दा समस्या झनै विकाराल हुन लागेको सहजै अनुमान लगाउन सकिन्छ । जबकि प्राधिकरणले बनाएका चार्जर १२० किलोवाटसम्मका छन् ।
बिहान, दिउँसो र बेलुका मात्र होइन रातिको समयमा पनि चार्जिङ स्टेशनहरू व्यस्त छन् । हाइवे आसपास बनेका चार्जिङ स्टेशनमा विद्युतीय गाडी लाइन लागेर बसेको देख्न सकिन्छ ।
मेरोअटोले गत शुक्रबार बिहानदेखि शनिबार बेलुकासम्म विद्युतीय गाडी लिएर काठमाडौंदेखि सिराहासम्मको यात्रा गरेको थियो । यसरी यात्रा गरेपछि बाटोमा देखिएको समस्याको बारे नेपाल विद्युत् प्राधिकरणको चार्जिङ पूर्वाधार योजनाका प्रमुख सागरमणी ज्ञवालीलाई प्रश्न गरेको थियो । किन पूर्ण क्षमतामा चल्दैनन् चार्जिङ स्टेशन ?
ज्ञवालीले चिसोको कारण पनि पावर सप्लाइमा समस्या भएको हुनसक्ने जानकारी दिए । उनले भने, ‘तराईमा चिसो अत्याधिक छ, पावर सप्लाइमा समस्या देखिएको छ । त्यसले पनि गाडी चार्ज ढिला भएको होला ।’

अहिले प्राधिकरणले बनाएको चार्जिङ स्टेशनमा लामो लाइन लागे पनि निजी क्षेत्रले बनाएको चार्जरमा धेरै गाडी चार्ज गर्न नगएको बुझ्न सकिन्छ । गाडी चार्जमा राखेर बसेका मानिस नै निजीमा जान इच्छुक देखिँदैनन् ।
हेटौंडा रातमाटेको चार्जिङ स्टेशनमा भेटिएका बुद्धिकृष्ण न्यौपाने चार्ज नभएर हैरान थिए । उनले भने, ‘चार्जरको गन बिग्रेको हो कि के हो ? मेरोमा चार्ज नै लिँदैन । कम्पनीको चार्जरमा जाँदा महंगो शुल्क तिर्नुपर्छ । त्यसैले यतै चार्ज गरौं भनेको हुँदै भएन ।’

त्यही समस्या हरिवन र बर्दिवासमा पनि भेटियो । विशेषगरी साना ईभी किनेर हाइवे यात्रामा जानेहरूको चार्जिङको समस्या धेरै थियो । यस्ता ईभीले धेरै समय चार्जर होल्ड गर्ने र अरूको लागि पनि समस्या थप्ने काम गरिरहेको हामीले देख्यौं ।
अब के गर्ने ?
–नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका चार्जिङ पूर्वाधार समयमा मर्मत नहुँदा अधिकांश स्थानमा एउटा मात्रै चार्जिङ गन चालु अवस्थामा छन् । यसो हुनुमा प्राधिकरणले चार्जिङ पूर्वाधर दुरुस्त राख्न ठोस पहल नगर्दाको परिणाम हो ।
–अर्को मुख्य कारण चालक हुन् । कुनै पनि चालकले गाडी चार्जमा लगाएपछि १०० प्रतिशत चार्ज नभइ गाडी चार्जिङबाट ननिकाल्दा लामो लाइन बनेको हो । ८० प्रतिशत माथि ७ किलोवाटभन्दा कम स्पीडमा चार्ज भए पनि डीसी चार्जरबाटै १०० प्रतिशत पुर्याउनु पर्छ भन्ने मान्यता चालकमा देखिन्छ । त्यसैले डीसी चार्जरहरू ८० प्रतिशत माथि प्रयोग गर्न नमिल्ने बनाउनु पर्छ ।
–निजी क्षेत्रले निर्माण गरेका चार्जिङ स्टेशन उपभोक्तामैत्री बनाउनु पर्छ । जसरी नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ पूर्वाधार सबैको लागि खुल्ला छ, त्यसैगरी निजी क्षेत्रको चार्जर पनि सबैको लागि खुल्ला गर्नुपर्छ ।
–चार्जिङ स्टेशन निर्माण भएका स्थानमा साना रेष्टुरेन्ट, कफीसप जस्ता अत्यावश्यक पूर्वाधार निर्माण गर्नु पर्नेछ । अन्यथा बढ्दो विद्युतीय साधनको प्रयोग हाइवेमा निकै सकस पूर्ण हुनेछन् ।

