विश्वको सबैभन्दा ठूलो क्रुजको पहिलो यात्रा सुरु

काठमाडाैं ।  विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ। तीन सय ६५ मिटर लामो आइकन अफ द सीज नामक सो क्रुजका २० वटा डेकहरू छन्।

त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबिअन ग्रुपको स्वामित्वमा उक्त क्रुज रहेको छ। आफ्नो पहिलो यात्राका क्रममा यो क्रुज सात दिने भ्रमणमा हुनेछ।

हाल इन्टर मायामीबाट खेल्ने गरेका अर्जेन्टिनाको विश्वकप फुटबल टोलीका कप्तान लियोनल मेस्सी बुधवार उक्त पानीजहाजको नामकरण समारोहमा उपस्थित थिए।

उनले विशेष ढङ्गले निर्माण गरिएको एउटा स्ट्यान्डमा फुटबल राखेर ‘शुभ कामना’ दिएको देखिएको थियो।

आइकन अफ सीज बनाउन २ अर्ब डलर लागेको थियो। त्यसमा ७ वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड्स र ४० भन्दा बढी रेस्टुराँ, बार र लाउन्जहरू रहेको बताइएको छ।

उत्सर्जनलाई लिएर चिन्ता

कतिपय वातावरण अधिकारकर्मीहरूले तरल प्राकृतिक ग्यास अर्थात् एलएनजीको प्रयोग गरिने यो पानीजहाजले घातक मिथेन उत्सर्जन गर्ने चेतावनी दिएका छन्।

यसै हप्ता आइसीसीले निकालेको एउटा प्रतिवेदनमा एलएनजी प्रयोग गरिएका पानीजहाजबाट हुने मिथेन उत्सर्जन अहिलेको नियमनले अनुमान गरेको भन्दा धेरै रहेको ठहर गरेको थियो।

एलएनजी अरु परम्परागत मरिन इन्धन भन्दा सफा बल्ने भएता पनि त्यो चुहावट हुने जोखिम रहने गर्छ।

मिथेन एउटा शक्तिशाली हरित गृह ग्यास हो र यसले २० वर्षको अवधिमा कार्बन डाइअक्साइडको तुनामा ८० गुणा बढी ताप वायुमण्डलबाट सोस्छ।

यी उत्सर्जनहरूलाई कटौती गर्नु तापमान वृद्धिलाई नियन्त्रण गर्ने तर्फको महत्त्वपूर्ण कदम हो।

एकजना रोयल क्यारिबिअन प्रवक्ताले आधुनिक पानीजहाजहरूलाई इन्टन्याश्नल म्यारिटाइम अर्गनाइजेशनले तोकेको भन्दा आइकन अफ द सीजले २४ प्रतिशत इन्धन कम खपत गर्ने बताएका छन्।

उक्त कम्पनीले सन् २०३५ सम्म कुल उत्सर्जन शून्य गर्ने पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

-बीबीसी


Back_to_top