५ हजार डलरमै आउँछ यो इलेक्ट्रीक कार, यस्तो छ नेपाल आउने संभावना

बाओजुन न्यून लागतमा कार उत्पादन गर्ने कम्पनी हो । यो कम्पनी एसएआइसी, युलिङ मोटर्स र जीएम चीनको संयुक्त कम्पनी हो । यो कम्पनीले उत्पादन गरेको पहिलो इभी इ१०० भारतमा परिक्षण भइरहेको छ । 

चिनियाँ सवारी उत्पादक कम्पनी एसएआइसीले बेलायती कम्पनी एमजी मोटरको स्वामित्व केही वर्षअघि लिएको हो । यो सँगै एसएआइसीले भारतमा केही मोडलहरु धमाधम परिक्षण गरि रहेको छ । 

भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिएका सवारीको लाइन आप एसएआइसीले तयार गरि रहेको छ । भारतसँगै अन्य केही देशमासमेत निर्यात गर्ने योजना रहेकाले अन्य देशको रोडमा समेत परिक्षण हुने कम्पनीले जनाएको छ । 

भारतमा एमजी आरएक्स५, एजी जेडएस, रोवी ए, आरएक्स५ इभी, बाओजुन ५३० र बाओजुन इ१०० इभी परिक्षण भइ रहेका छन् । 

परिक्षण गरि रहेका यी सबै मोडल भारतमा सार्वजनिक नहुने भएपनि कम्पनीले भविश्यमा ल्याउने मोडलका लागि तथ्यांक संकलन गरि रहेको छ । 

यदी उक्त मोडलहरु भारतीय बजारमा आए भने ती एमजी ब्रान्डमा आउने छन् । यसको कारण हो भारतमा चिनियाँ ब्रान्ड प्रति उपभोक्ताको विश्वास कम हुनु । चिनियाँ ब्रान्डमा सवारी ल्याउँदा एसएआसीले सोचे जस्तो बजार हिस्सा लिन नसक्ने भएकाले एमजी ब्रान्डमै सवारी भारतीय बजारमा ल्याउने योजना बनाएको हो । 

भारतमा बाओजुनको इ१०० इभी प्रारम्भिक परिक्षणमा रहेको एमजी मोटरका प्रमुख राजीव छावले बताए । यो सानो सहरी कार हो जसमा २ जनामात्र यात्रा गर्न मिल्छ । यो मर्सिडिज बेन्जको स्मार्ट कारसँग मिल्दो जुल्दो डिजाइनमा रहेको छ । यो कारमा ३९.४३ पीएस पावरको मोटर रहेको छ, जसले ११० एनएम टर्क दिन्छ । १४.९ केडब्लूएच ब्याट्रि रहेको यो कारले एकपटकको फुलचार्जमा १ सय ५५ किलोमिटरको दुरी तय गर्छ  । यो कार फुल चार्ज हुन ७ घण्टा लाग्ने कम्पनीले जनाएको छ । 

गत महिना इ१०० मा भएको ब्याट्री परिमार्जन गरि यसको क्षमता प्रति फुलचार्ज २०० किलो मिटर पुर्याइएको छ ।

यो कारको मूल्य ५ हजार ३ सय डलर तोकिएको छ । यदी यो कार नेपाली बजारमा आउने हो भने करिब १० लाख रुपैयाँको हारहारीमा पाउन सकिन्छ । एमजीको नेपालमा बिक्री वितरण भइरहेको छ । त्यसैले पनि नेपालमा यो कार आउने संभावनालाई नकार्न सकिदैन । तर, यसको आधिकारीक जानकारी भने आएको छैन । 


Back_to_top