काठमाडौं । टाटा मोटर्स कम्पनीको बहुप्रतिक्षीत मोडल तथा रतन टाटाको ड्रिम कार ‘नानो’को उत्पादन बन्द हुने संभावना उच्च भएको छ । कम्पनीले आधारिक रुपमा नानाको प्रोडक्शन बन्द गर्ने निर्णय भने सार्वजनिक गरेको छैन ।
तर, नानोको खस्कदो बजारलाई ध्यानमा राख्दै कम्पनीले उत्पादन नै बन्द गर्न सक्ने अनुमान गरिएको छ । पछिल्लो महिना तीन युनिट नानो बिक्री भएको थियो भने जून महिनामा कम्पनीले नानोको निर्यात नै गरेको थिएन ।
आँकडाको आधारमा २०१७ मा कम्पनीले जम्मा २ सय ७५ नानो उत्पादन गरेको थियो भने, २०१८ को जुन महिनामा जम्मा १ युनिट नानो निर्माण गरेको छ । जून महिनामा ३ युनिट्स नानो बिक्री भएको छ, जबकी एक वर्ष पहिला सोही समयमा १ सय ६७ नानो कार बिक्री भएको थियो ।
टाटा मोटर्सका एक प्रवक्ता भन्छन् ‘यही अबस्थामा २०१९ बाट नानाको उत्पादन रहने अवस्था छैन । नयाँ उत्पादनको संभावना प्रशस्तै छ । यस सम्बन्धमा कम्पनीले कुनै फैसला गरेको छैन ।’
टाटा नानो कार सन् २००९ मा सार्वजनिक भएको हो । यो कार टाटा ग्रुपका चेयरम्यान रतन टाटको ड्रिम प्रोजेक्ट थियो ।
सन् २०१५ मा परिमार्जन हुँदै जेनएक्स मोडल सार्वजनिक भयो । नानोले सबैभन्दा राम्रो व्यापार २०१२ मा गरेको थियो । यो वर्ष कम्पनीले ७४ हजार ५ सय २४ युनिट नानो बिक्री गरेको थियो । त्यसपश्चात् नानोको बिक्री प्रतिशत लगातार घट्दै आएको छ ।

