ब्याट्री बजारमा ‘सीएटीएल’को दबदबा कायमै

काठमाडौं । सन् २०२५ को जनवरी र फेब्रुअरीमा विश्वभर विद्युतीय कारको लागि १२९.९ गिगावाट आवर ब्याट्री प्रयोग भएको छ । यो अंक अघिल्लो वर्षको सोही समयको भन्दा ४०.३ प्रतिशतले बढेको हो ।

कुल ब्याट्री उत्पादनमा सीएटीएल एक्लैको ४९.६ गिगावाट आवार छ । यो संख्या अघिल्लो वर्षको जनवरी र फेब्रुअरीमा ३५.५ गिगावाट आवर थियो । समग्रमा अहिले सीएटीएलको ग्लोबल मार्केट शेयर ३८.२ प्रतिशत छ । सीएटीएलले उत्पादन गरेको ब्याट्रीहरू जिकर, आइतो, एलआइ अटो, साओमी, टेस्ला, बीएमडब्लू, मर्शिडिज बेन्ज र फक्सवागेन जस्ता कम्पनीहरूले प्रयोग गरिरहेका छन् ।

सीएटीएलको पछाडि रहेको बीवाइडीले २१.९ गिगावाट अवार ब्याट्री दुई महिनामा उत्पादन गर्न सफल भएको छ । बीवाइडीले अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले आफ्नो उत्पादन बढाएको हो । कम्पनीको मार्केट शेयर यो वर्ष १६.९ प्रतिशत छ ।

तेस्रो स्थानमा कोरियन कम्पनी एलजी इनर्जी शोलुसनले १२.७ गिगावाट आवर उत्पादन र बिक्री गर्न सफल भएको छ । कम्पनीले अघिल्लो वर्षको दुई महिनाको तुलनामा ८.५ प्रतिशतले बजार बढाएको हो । वार्षिक सप्लाई बढे पनि एलजीको ग्लोबल मार्केट शेयर भने १२.६ प्रतिशतबाट घटेर ९.३ प्रतिशतमा सीमित भएकोे छ ।

चौथो ईभी ब्याट्री सप्लायरको रूपमा दक्षिण कोरिया कै एसके अन रहेको छ । पाँचौ स्थानमा जापानी कम्पनी पानासोनिक रहेको छ । एसके र पानासोनिकको बजार हिस्सा क्रमशः ४.७ र ३.९ प्रतिशत रहेको छ ।

छैटौं स्थानमा रहेको सीएएलबीको ३.८ प्रतिशत बजार रहेकोमा सातौँ स्थानमा गोसन हाईटेक, आठौँ स्थानमा कोरियन सामसुङ एसडीआर, नवौंमा एसभोल्ट इनर्जी र दशौंमा इभ इनर्जी रहेका छन् ।


Back_to_top