बेनी-जोमसोम-कोरला सडककाे दुई ठाउँ बाहेक पहिरो हटाइयो, सोमबारसम्म खुल्ने

काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बेनी-जोमसोम-कोरला सडक आगामी सोमबारसम्म संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।

अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा भइरहेकाले सोमबारसम्म संचालनमा आउने अपेक्षा गरिएको हो ।

सडक विभागका महानिर्देश डा. विजय जैशीको सचिवालयका अनुसार कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो । तीमध्ये अधिकांश स्थानमा यातायात संचालनका लागि ट्रयाक खोल्ने काम सम्पन्न भएको सचिवालयले जनाएको छ ।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक र रघुगंगा गाउँपालिका–२ कुनौटा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने काम सकिएको छ । ती स्थानमा सडक स्तरोन्नतिको काम भने जारी छ ।

पोखरेबगरमा ग्याबियन टो-वाल निर्माण गरी माटो भर्ने काम भइरहेको छ । त्यस्तै, कुनौटामा एक्साभेटर प्रयोग गरी सडकको ट्र्याक खोल्ने काम भइरहेको सचिवालयले जनाएको छ ।

बाँकी काम पनि तीव्र गतिमा अघि बढाइएकाले आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन संचालन गर्न सकिने मन्त्रालयको अपेक्षा छ ।


Back_to_top