काठमाडौं । नेपालमा एक करोड माथि मूल्य पर्ने मोटरसाइकल पनि विक्री हुँदै आएको छ । तर, करोडौं रुपैयाँ तिरेर मोटरसाइकल किन्ने ग्राहक भने एकदमै कम संख्यामा भेटिन्छन् । यस्ता मोटरसाइकल आफ्नो शौख पुरा गर्न युवाहरुले किन्ने गर्छन् ।
नेपालमा ८ लाखदेखि १० लाखसम्मको मोटरसाइकल पनि धेरै मानिसको पहुँचमा छैन । यो सेग्मेन्टमा अहिले पनि वर्षिक १५० देखि ३०० यूनिटभन्दा कम मोटरसाइकल विक्री हुँदै आएको छ । यो सेग्मेन्टमा अहिले सबैभन्दा धेरै मोटरसाइकल केटीएमले विक्री गर्दै आएको छ भने बीएमडव्लू र राेयल इन्फिल्डले पनि आफ्ना उत्पादन विक्री गर्दै आएका छन् ।
१. केटीएम ३९० एड्भेञ्चर
केटीएम ३९० एड्भेन्चर मोटरसाइकल हो । नेपाली बजारमा हंशराज हुलाशचन्द एण्ड कम्पनीले विक्री गर्दै आएको यो मोटरसाइकल धेरै घुम्न निस्कने युवा लक्षित मोडल हो । ‘रेडी टु रेस’ नारासहित बजारमा विक्री भइरहेको केटीएम ३९० मा अनरोड तथा अफरोड दुवैमा सुहाउँदो मेटजेलरको नोबी टायर दिइएको छ ।

९ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको केटीएम ३९० एड्भेन्चर निकै सुरक्षित मोटरसाइकल मानिन्छ । यो मोटरसाइकलमा ट्राक्याक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, क्वीक शिफ्टर, टर्न-बाइ-टर्न न्याभिगेशन, फूल-कलर टीएफटी डिस्प्ले पाउन सकिन्छ ।
यस मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।
२. बीएमडब्लू ३१० जिएस
जर्मनीको अटोमोबाइल्स कम्पनी बीएमडब्लूले उत्पादन गरेको जी-३१० जीएस मोटरसाइकल अर्को उत्कृष्ट एड्भेञ्चर मोटरसाइकल हो । टर्क मोटर्सले नेपालमा विक्री गर्दै आएको यो मोटरसाइकल भारतमा उत्पादन भएको हो ।
उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बीएमडब्लूका बाइक संसारभर चर्चित छन् । यो मोटरसाइकलमा सार्प र सिल्क बडी, सिंगल-स्क्रृन, डिजिटल इन्स्टुमेन्ट कन्सोल जस्ता फिचर रहेको छ । बीएमडब्लू जी–३१० जीएसको सुरुवाती मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

यो मोटरसाइकलमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएच पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ ।
बाइकमा राइडिङ्ग क्षमतासंगै उत्कृष्ट ब्रेकिंग सिस्टम दिइएको कम्पनीको दाबी छ । यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्वील दिइएको छ भने, डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टन क्यालिपर जडित डिस्क ब्रेक दिइएको छ ।
३.रोयल इन्फिल्ड हिमालयन
रोयल इन्फिल्डका उत्पादनहरु विक्रेता एमभी दुगर ग्रुपले विक्री गर्ने रोयल इन्फिल्ड हिमालयनले प्रिमियम एड्भेन्चर सेग्मेन्टमा प्रतिस्पर्धा गर्दै आएको छ । हिमालयनमा ४११ सीसी क्षमताको एयरकुल्ड एसओएचसी एफआई इन्जिन रहेको छ । ५ स्पीडको गियरबक्स रहेको यो इन्जिनले २४ पीएस पावर तथा ३२ एनएम टर्क जेनेरेट गर्छ ।
रोयल इन्फिल्ड हिमालयनको फ्रन्टमा ४१ एमएमको परम्परागत टेलिस्कोप फर्क र रियरमा मोनोसक रहेको छ । यसको फ्रन्टमा ३०० एमएमको डिस्क र रियरमा २४० एमएमको डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस सुविधा पाउन सकिन्छ ।

रोयल इन्फिल्ड हिमालयनका ग्राहकहरुले यो मोटरासइकल खरिद गर्न भने केही समय प्रतिक्षा गर्नु पर्ने हुन्छ । हाल स्टक सकिएका कारण यसको विक्री रोकिएको छ भने चाँडै नै यसको बीएस ६ भर्सन नेपाल ल्याउने तयारीमा कम्पनी रहेको छ ।
रोयल इन्फिल्ड हिमालयनको बीएस ४ भर्सनको मूल्य ८ लाख ९८ हजार रुपैयाँ रहेको थियो भने बीएस ६ भर्सनमा आउँदा यसको मूल्य ९ लाख ५० हजारसम्म हुने अनुमान गर्न सकिन्छ ।


