काठमाडौं । अहिले पनि देशका हरेक कुनामा ईभी चलाएर पुग्दा चिनेका मानिसले सोध्ने एउटै प्रश्न छ, ‘अब ईभी किन्ने बेला भयो ?’ यसको उत्तर सजिलो भने छैन । तर, पनि हाम्रो बुझाइ अनुसारको उत्तर त दिनै पर्यो ।
अहिले विश्वभर ईभीको विकासमा भइरहेको लगानीले अब ईभी किन्ने कि नकिन्ने भनेर बहस गरिराख्नु पर्दैन जस्तो लाग्छ । त्यसैले हाम्रो सहज उत्तर बेला भयो नै भन्ने हुनेगर्छ । केही कठिनाइका बारेमा भने तपाईं आफैँ सोच्नुस् भन्ने गरेका छौं । जस्तो सडक अवस्था, सर्भिस, किन्ने ब्राण्डका बारेमा जानकारी जस्ता कुराका बारेमा भने हामी बताउँछौं ।
विद्युतीय साधन खासगरी कार र लाइट कमर्शियल (मानिस ओसार पसार गर्ने माइक्रोबस) सेग्मेन्टमा ईभी निकै चर्चित छ । कारको बिक्रीमा ७० प्रतिशतसम्म हिस्सा ईभी हुन थालेको छ । माइक्रोबसको मामलामा झनै बढी अर्थात् ९० प्रतिशत हाराहारी नै ईभी बिक्री हुन थालेका छन् । यी दुई सेग्मेन्टको बिक्री उत्साहजनक भएपनि दुई पाङ्ग्रे, ठूला बसहरू र ट्रकहरूमा अवस्था राम्रो देखिएको छैन ।
माथि चर्चा भएको नेपाली बजारको मात्रै कुरा हो । ईभीको मामलामा विश्व बजारमा भइरहेका हलचल, लगानी र उपभोक्ताको छनोटको विषयमा पनि चर्चा गर्नु पर्ने हुन्छ । सन् २०२४ मा विश्वभर बिक्री भएको कुल नयाँ कारमा ईभीको हिस्सा २० प्रतिशत थियो । सन् २०२५ को अन्तिमसम्ममा २५ प्रतिशत पुग्ने अनुमान छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए)का अनुसार अबको ५ वर्ष अर्थात् सन् २०३० सम्ममा मोटरसाइकल र रिक्सा छाडेर अन्य इलेक्ट्रीक भेहिकलको बिक्री संख्या २५ करोड पुग्नेछ । यसले के देखाउँछ भने ईभी किन्ने कि नकिन्ने वा कहिले किन्ने भन्ने बिषयलाई बहस नै गर्नु नपर्ने बनाउने छ ।
म्याकिन्सीका अनुसार सन् २०३० सम्ममा विद्युतीय कारको बिक्री नै वार्षिक ४ करोड युनिट पुग्नेछ । जुन वार्षिक बिक्री संख्या पुगेको खण्डमा सन् २०२१ मा बिक्री भएको ६५ लाख युनिटको तुलनामा ६ गुणा धेरै हुन्छ ।
विश्वका ठूला अटोमोबाइल बजार मानिने चीनमा अबको ५ वर्षपछि बिक्री हुने नयाँ कारमा ईभीको हिस्सा ८० प्रतिशत पुग्नेछ । युरोपमा ६० प्रतिशत नयाँ बिक्ने कार ईभी हुनेछ भने अमेरिकामा २० प्रतिशत नयाँ कार ईभी हुनेछन् ।
ईभी दौडमा भारत भने केही पछाडि देखिने छ । भारतमा सन् २०३० सम्ममा ईभीको हिस्सा १५ प्रतिशत मात्रै रहने म्याकिन्सीले अनुमान गरेको छ । तर, सन् २०२५ मा जुन हिसावले भारतमा ईभी बिक्री हुँदैछ, त्यसले बजार हिस्सा अनुमान भन्दा बढी हुने आशा गर्न सकिन्छ ।
ईभी किन्ने अवसर
नेपालमा सरकारले ईभी बिक्रीलाई प्रोत्साहन नै गरिरहेको छ । चार्जिङ पूर्वाधार निर्माण र निजी क्षेत्रलाई चार्जर लगाउन सहयोग गर्दै सरकारले नै ईभी किन्न प्रोत्साहन गरिरहेको छ । त्यसैले पेट्रोल कारको तुलनामा ईभी निकै सस्तो किन्न पाइन्छ ।
अन्तर्राष्ट्रिय बजारमा घट्दो ब्याट्रीको मूल्यले पनि गाडीको मूल्य कम गर्न सहयोग भइरहेको देखिन्छ । ट्याक्सीमा ईभीको प्रयोग ब्यापक बन्दै गएको कारण सर्वपक्षीय फाइदा भइरहेको छ । महँगो उत्पादन लागत भएका कारहरू बजेटमैत्री मूल्यमा उपभोक्ताले किन्न पाएका छन् ।
ईभीमा उपलब्ध फिचरहरू परम्परागत गाडीमा महँगो मूल्य तिरेर मात्रै प्रयोग गर्न पाइन्थ्यो । अहिले आएर सजिलै उपभोग गर्न पाइने भएको छ । ब्याट्री टेक्नोलोजी पनि धेरै हदसम्म दाबी योग्य भएका छन् । थप ब्याट्रीको खोजमा कम्पनीहरू लागिरहेका छन् ।
चुनौतीहरू के छन् ?
ईभीको पूर्ण प्रयोग नेपाल जस्तो देशमा तत्कालै सम्भव नहोला । प्रविधिको विकास र हाम्रो सडक पूर्वाधार राम्रो बनेको दिन नेपालमा ईभी निर्विकल्प साधन बन्ने देखिँदैछ ।
यदि, तपाईंको यात्रा धेरै अफरोडमा हुन्छ । चार्जिङ पूर्वाधारको सुविधा छैन । भने, तत्काल धेरै छनोटबाट एउटा ईभी किन्न सक्ने अवस्था छैन । त्यस्ता प्रयोगकर्ताको लागि पेट्रोलियम पदार्थबाट चल्ने गाडी हेर्नुपर्छ होला ।

