काठमाडौं । नेपालमा इलेक्ट्रीक सवारी साधनको प्रयोग तिव्र गतिमा बढिरहेको छ । तर, जुन अनुपातमा चार पाङ्ग्रे साधनको आयात र प्रयोग बढ्दै छ, त्यहि अनुपातमा दुई पाङ्ग्रेको प्रयोग भने बढ्न सकेको छैन ।
आम सर्वसाधारणले प्रयोग गर्ने दुई पाङ्ग्रे साधनमा इलेक्ट्रीक हुन सकेको खण्डमा उनिहरुले इन्धनमा गर्ने ठूलो धनरासी बचत हुन सक्थ्यो । तर, दुई पाङ्ग्रे ईभी प्रति उपभोक्ताको कन्फीडेन्स नआउँदा बजार बढ्न सकेन ।
दुई पाङ्ग्रेमा धेरै मानिसले चासो राख्दा राख्दै पनि आधिकारीक बिक्रेता बलियो नहुँदा धेरैले विश्वास गर्न सकेका छैनन् । चार पाङ्ग्रेमा धेरै ठूला ब्यवसायीक घरानाले लगानी गरेको भएपनि दुई पाङ्ग्रेमा धेरै वर्षदेखि साना स्टार्टअप कम्पनी जस्तो लाग्ने आयातकर्ता थिए । त्यसैले धेरैले विश्वास गर्न सकेनन् भन्दा फरक पर्दैन ।
नेपालमा दुई पाङ्ग्रे ब्रान्ड झण्डै ५ दर्जनभन्दा बढी आएका छन् । तर, ती ब्राण्ड बिक्री गर्नेहरुसँग सवारीसाधन बिक्रीको न धेरै ज्ञान छ, न ठूलो लगानीको अवस्था । त्यसैले यी साधन बिक्रेतासँग सधै उपभोक्ता डराए जस्तो देखियो ।
पछिल्लो समय दुईपाँग्रे इलेक्ट्रीक आयात गर्न ठूला ब्यापारिक घरानाले चासो दिन थालेको छन् । त्यति मात्रै नभएर चल्तीका ब्राण्डले पनि विद्युतीय दुई पाङ्ग्रे साधन नेपाल ल्याएर बिक्री सुरु गरेका छन् ।
यस्तोमा ठूला घरानाले कसकसले लगानी गर्दैछन् भन्ने विषयमा हामीले यहाँ जानकारी प्रस्तुत गरेका छौं ।
१. लक्ष्मी ग्रुप
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोविलिटीले हिरो ब्रान्डका इलेक्ट्रीक स्कुटर आयात तथा बिक्री गर्दै आएको छ । नेपालमा इलेक्ट्रीक स्कुटर भित्र्याउने पहिलो ब्यवसायिक घरानाका रुपमा लक्ष्मी ग्रुपले भारतमा उत्पादन भएको हिरो इलेक्ट्रीक नेपाल ल्याएको हो ।
हुन्डाई, एसएमएल इसुजु, बीएमडब्लू जस्ता विश्व प्रसिद्ध ब्राण्डका गाडी बिक्री गर्दै आएको लक्ष्मी ग्रुप अन्तर्गतका कम्पनीको अनुभव हिरोलाई दिने उसको योजना रहेको छ ।
हिरोसँग अहिले धेरै चर्चामा रहने मोडल छैनन् । विशेषगरी तराई क्षेत्र केन्द्रित मोडल मात्रै अहिले कम्पनीसँग छ । चाँडै प्रिमियम सेग्मेन्टमा हिरोले दुई पाङ्ग्रे साधन ल्याउँदैछ । अहिले कम्पनीसँग २ लाख ९ हजार ६०० रुपैयाँदेखि ३ लाख ९ हजार ६०० रुपैयाँसम्मका इलेक्ट्रीक स्कुटर रहेका छन् ।
२. गोल्छा र पञ्चकन्या समूह
गोल्छा र पञ्चकन्या समूहको संयुक्त लगानीमा रहेको केटीएम इन्टरनेशनल कम्पनीले चीनमा उत्पादन भएको सुनरा इलेक्ट्री स्कुटर बिक्री गर्दै आएको छ ।
गोल्छा समूह अटोमोवाइल क्षेत्रको लागि नयाँ नाम होइन । कम्पनीले यसअघि नै दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडी आयात र बिक्रीमा लामो इतिहास बनाइसकेको छ । पन्चकन्या समूह निर्माण जन्य बस्तु उत्पादनमा तल्लीन कम्पनी हो । उसले डुकाटी, बीएमडब्लू जस्ता ब्राण्डका मोटरसाइकलबाट बजारमा प्रबेश गरेको थियो ।
कम्पनीले बिक्री गर्ने रोबो एस इलेक्ट्री स्कुटरले १३५ किलोमिटर रेन्ज दिने बताइएको छ । यसको मूल्य ३ लाख ८० हजार रुपैयाँ रहेको छ ।
३. मुरारका ग्रुप
मुरारका ग्रुप अन्तर्गतको आइहव प्रालिले चिनियाँ व्रान्ड सेगवे नाइनबोट ब्रान्डका दुई पाङ्ग्रे स्कुटर तथा सेल्फ् ब्यालेन्सिन दुई पाङ्ग्रे सवारीसाधनहरु बिक्री गर्दै आएको छ ।
मुरारका समूह पनि सन् २०१८ बाट अटोमोवाइल ट्रेडिङमा प्रबेश गरेको हो । त्यसअघि उक्त समूह उत्पादन मुलक उद्योगमा मात्रै सिमित थियो । मुरारका समूहको बलियो उपस्थिति निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुमा रहेको छ ।
मुरारका समुहले विशाल ग्रुपसँग मिलेर एमजी, रेनो, माज्दा, मेक्सस जस्ता ब्राण्डका उत्पादन नेपाली बजारमा बिक्री गर्दै आएको छ ।
आइहव प्रालिले ४ मोडलका इलेक्ट्रीक स्कुटहरु बिक्री गर्दै आएको छ । साथै, कम्पनीले इलेक्ट्रीक गो-कार्ट तथा किक स्कुटहरु उपलब्ध गराउँदै आएको छ ।
कम्पनीसँग अहिले २ लाख ६० हजार रुपैयाँदेखि ३ लाख ९० हजार रुपैयाँसम्मका स्कुटर रहेका छन् ।
४. बैद्य अर्गनाइजेशन
बैद्य अर्गनाइजेशन अन्तर्गतको बैद्य इनर्जीले एथर ब्रान्ड नेपाल ल्याउने भएको छ । यसको आधिकारीक घोषणा यसअघि नै भएको हो । कम्पनीले नोभेम्वर २०२३ देखि एथरका स्कुटरहरु नेपालमा बिक्री सुरु गर्नेछ ।
विश्व प्रसिद्ध कार ब्राण्ड टोयोटाको आधिकारीक बिक्रेता रहेको बैद्यज् अर्गनाइजेशन अन्तर्गतको बैद्य इनर्जी नयाँ पुस्ताका ब्यवसायी सूयान्स बैद्यले नेतृत्व गरिरहेका छन् । भारतमा उत्पादन भएको पहिलो हाई पर्फमेन्स स्कुटर कम्पनीले नेपाल ल्याउन लागेको हो ।
कम्पनीले पहिले एथर ४५० एक्स र ४५० एस मोडल नेपाल ल्याउने छ ।
५. आईएमई ग्रुप
आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्सले विद्युतीय स्कुटर तथा मोटरसाइकल बिक्री सुरु गरेको थियो । कम्पनीले राफ्टका स्कुटर बिक्री सुरु गरेपनि त्योभन्दा राम्रो ब्राण्ड ल्याउने प्रक्रिया अगाडि बढेको कम्पनी स्रोतले बतायो ।
आईएमई ग्रुप नेपालको बैंकि क्षेत्रमा ठूलो लगानी भएको समूह हो । साथै, समूहले आईएमई मोटर्स मार्फत नै अशोक लेल्यान्डका कमर्शियल सवारी साधन बिक्री गर्दै आएको छ ।


