काठमाडौं । बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले ‘आइएक्स’ सिरिजमा तेस्रो मोडलको इलेक्ट्रीक एसयूभी नेपाल ल्याएको छ । कम्पनीले बीएमडब्लू आइएक्स-टु नेपाल ल्याएको हो ।
यसअघि आइएक्स-वान र आइएक्स-थ्री मोडल बिक्री गर्दै आएको लक्ष्मी प्रिमियमले तेस्रो इलेक्ट्रीक मोडल नेपाल ल्याएको हो । कुप्पे डिजाइनमा उपलब्ध हुने आइएक्स-टुमा ‘ई-ड्राइभ-२० सिस्टम’मा १५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर दिइएको छ ।
बीएमडब्लूको आइएक्स-टुमा ६६.५ किलोवाट आवरको ब्याट्रीप्याक पाउन सकिन्छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा ४४९ किलोमिटरसम्म रेन्ज पाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।
आइएक्स-टुको इन्टेरियरमा ड्यूल कर्भ स्क्रीन लेआउट पाउन सकिन्छ । हेडअप डिस्प्ले, १२ वटा स्पीकर सहितको हर्मन कार्डनको म्युजिक सिस्टम, प्यानारोमिक ग्लासरुफ, हिटेड र मेमोरी सहितको पावर्ड फ्रन्ट सिटले जो कोहीलाई लोभ्याउने छ । साथै, वायरलेस चार्जर, अटोमेटिक एसी, रियर एसी भेन्ट जस्ता फिचरले चालक र यात्रु दुवैलाई सहज बनाउने छ ।

सुरक्षाको लागि आइएक्स-टुमा ७ वटा एयरब्याग, चारवटै चक्कामा डिस्क ब्रेक, इन्ट्रीग्रेटेड ब्रेकिङ सिस्टम, अटोहोल्ड, ड्राइभ अफ असिस्ट, डाइनामिक ब्रेक कन्ट्रोल, मल्टी ड्राइभ फङ्सन, हाइबिम असिस्ट जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले यसमा १९ इन्चको डबल स्पोक अलोय ह्वील दिएको छ । यसमा स्पेयर टायर उपलब्ध छैन । त्यसको सट्टा टायर रिपियर किट दिएको छ ।
आईएक्स-टु कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध एसयूभी हो । यसको लम्बाइ ४५५४ एमएम, चौडाइ १८४५ एमएम, उचाइ १५६० एमएम छ । यसको ह्वीलबेस २६९२ एमएम छ ।

अन्तर्राष्ट्रिय बजारमा अउडीको क्यू-फोर इट्रोन स्पोर्टब्याक, टेस्लाको मोडल वाई र हुन्डाईको आयोनिक-फाइभसँग यसको सिधा प्रतिस्पर्धा भइरहेको छ । आगामी सोमबारबाट नेपालमा बिक्री सुरू हुने बीएमडब्लू आइएक्स-टुको मूल्य १ करोड ८० लाख रुपैयाँ हाराहारी रहने अनुमान गरिएको छ ।

