बीपी राजमार्गको ८.५ किमी सडक पुनर्निर्माणको ठेक्का लाग्यो

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक चारसयबेँसीदेखि डालबेँसीसम्मको ८.५ किलोमिटर सडक पुननिर्माणको ठेक्का लागेको छ ।

उक्त सडक पुननिर्माणको ठेक्का थानी/एवान/कमलजीत जेभीले पाएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका थानी/एवान/कमलजीत जेभीले १ अर्ब ४२ करोड रुपैयाँमा ठेक्का पाएको हो ।

डिभिजन कार्यालयले गत चैतमा ठेक्का आह्वान गरेको थियो । जसमा ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये थानी/एवान/कमलजीत जेभीले सबैभन्दा कम कबोल गर्दै ठेक्का हात पारेको हो ।

डिभिजनले उक्त सडक पुननिर्माणको लागत २ अर्ब अनुमान गरेकोमा थानी/एवान/कमलजीत जेभीले ५८ करोड रुपैयाँ कममै ठेक्का हात पारेको हो ।

कम्पनी छनोट भएसँगै अब सम्झौता गरेर निर्माण अघि बढाइने डिभिजन कार्यालयले जनाएको छ ।

बीपी राजमार्ग काठमाडौंबाट पूर्वी तराई जाने सबैभन्दा छोटो दूरीको सडक हो । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको २९ किलोमिटर सडकलाई सरकारले ४ खण्डमा विभाजन गरी पुननिर्माण गरिँदै छ । जसमा नेपाल सरकारले पुननिर्माण गर्ने ३ खण्डको ठेक्का आह्वान भइसकेको छ ।

काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीबाट चारसय बेँसीसम्मको करिब ११ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको ४ किलोमिटर सडकको ठेक्का पनि चाँडै टुंगो लाग्नेछ ।

बीपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि अर्थमन्त्रालयले साढे ८ अर्ब बजेटको स्रोत सुनिश्चित गरिसकेका छ ।

बर्खेखोलाबाट डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले गर्दिने भएको छ ।


Back_to_top