काठमाडौं । भारतले विश्वकै सबैभन्दा अग्लो पुल संचालनमा ल्याएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार चेनाब नदीमाथिको विश्वको सबैभन्दा अग्लो रेलवे पुलको उद्घाटन गरेका हुन् ।
उक्त पु्ल चेनाव नदीभन्दा ३५९ मिटर माथि छ । जुन विश्वचर्चित फ्रान्सको आइफेल टावरभन्दा ३५ मिटर अग्लो हो ।
१ हजार ३१५ मिटर लामो उक्त पुलमा १७ वटा स्पान छन् । उक्त पुल निर्माण गर्न २८ हजार ६६० मेगाटन स्टील प्रयोग गरिएको छ । पुलमा प्रयोग गरिएका स्टीलले शून्यभन्दा कम र अत्यधिक उच्च तापक्रम दुवै सहन सक्छ ।
यो पुलले ८ रेक्टरसम्मको भूकम्प धान्न सक्ने बताइएको छ । उक्त पुलमाथि प्रतिघण्टा २५० किलोमिटरको गतिमा रेल गुड्न सक्छ । यो पुल निर्माण गर्न २८ हजार करोड भारू खर्च भएको छ ।

उक्त पुल उधमपुर-श्रीनगर-बारामुल्ला रेल लिंक परियोजना अन्तर्गत निर्माण गरिएको हो । यससँगै जम्मु-कस्मिर क्षेत्र भारतसँग रेलमार्गमार्फत जोडिएको छ ।
पुलको डिजाइन क्यानेडियन इन्जिनियरिङ फर्म डब्लूएसपी र निर्माण अफकोन्स इन्फ्रास्ट्रक्चरले गरेको हो ।
सन् २००२ मा बनाइएको यो रेलमार्गको योजनाको सन् २००४ देखि काम सुरु गरिएको थियो । रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो ।
दिल्लीबाट ६०० किलोमिटर उत्तरमा अवस्थित चेनाब ब्रिजले कश्मीर उपत्यकालाई रेलमार्फत भारतको बाँकी भागमा जोडेको छ । जसले यात्राको समयलाई उल्लेखनीय रूपमा घटाउनुका साथै यस क्षेत्रमा पर्यटन र आर्थिक गतिविधिलाई बढावा दिने अपेक्षा गरिएको छ।

