काठमाडौं । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यूको औपचारिक बिक्री सुरु गरेको छ । कोभिड १९ को संक्रमण र लकडाउनको कारण गाडी बिक्री सुरु गरेपनि औपचारीक कार्यक्रम भने हुन सकेको थिएन ।
काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु भएको हो । जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेर अगाडि बढेको जनाएको छ ।

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।’

बिएमडब्ल्यूको औपचारिक कार्यक्रममा बोल्दै लक्ष्मी प्रिमियम मोटर्सका कार्यकारी निर्देशक निराकार श्रेष्ठ भने ‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ । ’
कम्पनीले गाडीको शोरुम निकै उत्कृष्ट बनाएको छ । उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ सहितको शोरुममा विभिन्न ४ मोडलका कारको प्रदर्शनी गरिएको छ । अर्कोतर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने कम्पनीको दाबी छ ।

अहिलेको विषम परिस्थितिमा ‘कनट्याक्ट लेस’ टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने छन् । टेष्ट ड्राइभमा छनोट भएको वा खरिद गरेको कार पूर्णत सेनिटाइज गरिने कम्पनीले जनाएको छ ।

बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको लक्ष्मी प्रिमियमले जनाएको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्याउने अपेक्षा गरेको छ । बिएमडब्ल्यू बंगलादेशले सन् २०१८ मा बिएमडब्ल्यू ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड, २०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बिएमडब्ल्यू ७ सिरिज डिलर’ अवार्ड, २०१३ र २०१४ सर्बोत्कृष्ट विक्रीपछिको सेवा अवार्ड, २००९ मा ‘टप पाटर्स एचिभमेन्ट अवार्ड’ र २००४ मा ‘वेष्ट बिएमडब्ल्यू फेसिलिटी अवार्ड’ जित्न सफल भएको छ ।


