चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।
सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो ।
साविक ठूलो सिरुबारी गाविस हँुदा नै दुई वर्षअघि प्रत्येक घरधुरीबाट ५०० का दरले उठेको ६ लाख मौज्दात थियो । फेसबुकमार्फत संकलित ७ लाख ५० हजार, नगरपालिकाबाट प्राप्त अनुदान २ लाख र वडाबाट १ लाख गरी कूल १६ लाख रुपैयाँ संकलन भएकामा १२ लाख ५३ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको छ । बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए ।
सो एम्बुलेन्सको भाडा अन्यका लागि जिल्ला अस्पतालले निर्धारण गरेअनुसार र वडावासीलाई भने ५ प्रतिशत छुट दिइने वडाध्यक्ष गौतमले बताए।