काठमाडौं । बजारका दुई प्रतिस्पर्धी बीवाइडी एटो-थ्री र ओमोडा ई-फाइभ बीच प्रतिस्पर्धा सुरु भएको करिब १० महिना पुग्न लाग्यो । यी दुई मोडलको प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने धेरैमा कौतुहलता थियो ।
बिक्रम सम्बत २०८१ बैशाख १ गतेदेखि मंसिर मसान्तसम्मको झण्डै १० महिनाको आयात तथ्यांक हेर्दा प्रतिस्पर्धा निकै रोचक बनेको देखिन्छ । त्यसको कारणहरु पनि रोचक नै छन् । पहिलो यी दुबै गाडीमा एउटै कम्पनीले बनाएको ब्याट्री छ । ब्लेड ब्याट्रीमा उपलब्ध बीवाइडीको कारपछि पहिलो मोडल ओमोडा ई-फाइभ नै हो ।
ब्याट्री साइजको कुरा गर्दा बीवाइडीमा ४९.९२ र ६०.४८ किलोवाट आवरका दुई अप्सन छ भने ओमोडा ई-फाइभमा ६१ किलोवाट आवरको ब्याट्री मात्रै छ । भेरियन्ट पनि दुबै कम्पनीले दुई/दुई नै ल्याएका छन् ।
मोटर भने बीवाइडीले १०० किलोवाटको प्रयोग गरेको छ । ओमोडा ई-फाइभमा ९९ किलोवाटको मोटर पाउनु हुन्छ । टर्क भने ओमोडा ई-फाइभ अगाडि छ । यसमा ३४० एनएम टर्क पाउन सकिन्छ भने एटो-थ्रीमा ३१० एनएम छ ।
आयातमा प्रतिस्पर्धा
बीवाइडी एटो-थ्री नेपालमा सर्वाधिक बिक्री भइरहेको मोडल हो । आधिकारिक बिक्रेता साइमेक्स इंकले बैशाखदेखि मंसिर मसान्तसम्मको अवधिमा १ हजार ७६१ युनिट एटो-थ्री आयात गरेको छ ।
कम्पनीको आयात बैशाख २१४ युनिट र जेठमा १ हजार १८ युनिट आयात भएको थियो । त्यसपछि असार र साउनमा एक युनिट पनि आयात नभएको एटो-थ्री भदौदेखि मंसिर मसान्तसम्ममा ५२९ युनिट आयात भएको हो ।
ओमोडा ई-फाइभको आयात बैशाखमा १५० र जेठमा पनि १५० युनिट भएको थियो । आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइल कम्पनीले पनि असार र साउनमा एक युनिट पनि आयात गरेन । तर, भदौदेखि मंसिर मसान्तसम्ममा २१९ युनिट आयात गरेको छ । समग्रमा बैशाखदेखि मंसिर मसान्तसम्म कम्पनीले ५१९ युनिट ओमोडा ई-फाइभ आयात गरेको देखिन्छ ।
मूल्यमा प्रतिस्पर्धा
दुबै ब्राण्डको इन्ट्री भेरियन्टको मूल्य पनि लगभग उस्तै छ । ओमोडा डिलक्सको मूल्य ५५ लाख ९९ हजार र एटो-थ्री एड्भान्सको मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ ।
टप भेरियन्टमा जाँदा ओमोडा ई-फाइभ निकै सस्तो मूल्यमा उपलब्ध छ । लग्जरी भेरियन्ट ई-फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एटो-थ्री सुपेरियरको मूल्य भने ६७ लाख ८० हजार रुपैयाँ छ ।