काठमाडौं । एक समय नेपाली बजारमा डर्ट बाइकको क्रेज थियो । युवाहरु डर्ट बाइक भनेर हार्टफोर्ड, क्रसफायर, सिएक्समोटो, हस्कभर्ना जस्ता ब्रान्डका मोटरसाइकल किन्ने सपना बुन्थे ।
अहिले यस्ता डर्ट बाइक युवाहरुको सपना बन्दैन । त्यसको कारण हो, डर्ट बाइक एकदमै एक्स्ट्रीम अफरोड बाटाहरुमा मात्रै चलाउनका प्रयोग गरिन्छ । दैनिक प्रयोग गर्न डर्ट बाइक उपयुक्त मानिदैन ।
आजभन्दा ५/६ वर्ष पहिला डर्ट मोटरसाइकल निकै चर्चामा थिए । ठ्याक्कै त्यति वेला डर्ट मोटरसाइकल जस्तै अहिले डबल पर्पस मोटरसाइकल खोज्नेहरु छन् । त्यसको मुख्य कारण डबल पर्पस मोटरसाइकल अफरोड तथा अनरोड दुबैका लागि उपयुक्त हुने भएर हो । एउटै मोटरसाइकलमा अफरोड र एड्भेन्चर पाइने भएको कारण युवाहरु यता आकर्षित भएका हुन् ।
पछिल्लो समय नेपालमा हिरो एक्सपल्स २००, होन्डा एक्सआर १५०/१९० जस्ता मोटरसाइकलको बिक्री बढ्दै गएको छ । सन् २०२४ को ११ महिनाको आयात तथ्यांक हेर्ने हो भने, डर्ट सेग्मेन्टमा केबल ७१ यूनिट मोटरसाइकल आयात भएको देखिन्छ ।
डर्ट मोटरसाइकलको बजार डबल पर्पस सेग्मेन्टमा सरेको देखाउन हिरो र होन्डाले ल्याएको २ हजार ९९१ यूनिट मोटरसाइकल प्रयाप्त छ ।
यसका अलावा नेपालमा एड्भेन्चर टूरर सेग्मेन्ट बजाज डोमिनार, होन्डा एनएक्स २००, रोयल इनफिल्ड स्क्रयाम ४४० जस्ता मोटरसाइकल पनि राम्रो संख्यामा बिक्री हुँदै आएका छन् ।