काठमाडौं । सन् २०१८ मा नै कोना इलेक्ट्रीक एसयूभी ल्याएर नेपालमा विद्युतीय साधनको प्रयोग बढाउन महत्वपूर्ण भूमिका खेलेको हुन्डाईले क्रेटा ईभी आउने भएसँगै त्यसको लागि पूर्वाधार निर्माण गर्न थालेको छ ।
आगामी माघ महिनामा क्रेटा ईभी नेपाली बजारमा बिक्री सुरु हुँदैछ । त्यसको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चार्जिङ नेटवर्क तयार पार्ने र सर्भिसलाई चुस्त बनाउने काम तिब्र गतिमा अगाडि बढाएको हो ।
‘हुन्डाई गाडी बिक्री मात्रै गर्दैन । हामी गाडीसँगै उपभोक्तालाई १०० प्रतिशत सर्भिसको उपलब्धता हुनुपर्छ भन्ने कुरामा विश्वास राख्छौं । त्यसैले क्रेटा ईभी बिक्री सुरु गर्नु अगाडि नै त्यसको लागि आवश्यक ईको सिस्टम निर्माणमा केन्द्रित भएका छौं’, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल मेनेजर दीपक थपलियाले मेरोअटोसँग भने ।
थपलियाका अनुसार अहिले हुन्डाई सर्भिसमा काम गर्ने ७० प्रतिशत टेक्नीसियनहरुलाई ईभी सर्टिफाइट गरिसकिएको छ । साथै, बाँकी हकमा पनि ट्रेनिङहरु चलिरहेको उनको भनाई छ ।
टेक्नीसियन र स्पेयर पार्टस्को कुनै कमी नहोस् भन्ने विषयमा हामी सचेत छौं । त्यसैले गाडी आउनु अगाडि नै आवश्यक पार्टसहरु आयात प्रक्रिया अगाडि बढिसकेको छ । केही पार्टसहरु आइसकेको बताउँदै जनरल मेनेजर थपलिया भन्छन्, ‘हाम्रो बलियो नेटवर्क र अनुभवलाई प्रयोग गर्दै उत्कृष्ट सर्भिस दिने हाम्रो योजना छ ।’
हुन्डाई चार्जिङ सप
हुन्डाईले चार्जिङ स्टेशन सँगै सर्भिस स्टेशन पनि बनाउने भएको छ । त्यसैले दुबै काम एउटै थालेमा हुने भएको कारण यसलाई ‘हुन्डाई चार्ज सप’ नाम दिएर निर्माण सुरु भएको हो ।
हाइवेका मुख्य २५ स्थानमा १०० किलोवाटको डिसी फास्ट चार्जर निर्माण प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । सुरुमा ५ स्थानमा डिसी फास्ट चार्जरसँगै सानो र चुस्त सर्भिस सेन्टर बनाउन लागेको जनरल मेनेजर थपलियाले जानकारी दिए ।
‘हामीले राख्न लागेको चार्जर १०० किलोवाट क्षमताको हो । त्यसमा ६० किलोवाट र ४० किलोवाटका दुई गन हुन्छन् । एक साथ दुई गाडीलाई हरेक चार्जिङ प्वइन्टमा चार्ज गर्न सकिन्छ । साथै, चार्जिङ स्टेशनमै सानो साइजको सर्भिस सेन्टर निर्माण गर्दैछौं’, थपलियाले भने ।
कम्पनीले अहिले निर्माण थालेको चार्जिङ सपहरु धार्के, चुम्लिङटार, डुम्रे, बनेपा छन् । साथै, बिपी हाइवे र पोखराबाट बुटवल जाने सिद्धार्थ हाइवेमा पनि चार्जिङ सप बन्ने छ ।
सन् २०२५ मा २५ स्थानमा डिसी चार्जिङ स्टेशन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले दुई वटा भेहिकल टु भेहिकल चार्जिङ भ्यान पनि तयार पारेको जनाएको छ । साथै, ५० स्थानमा ११ किलोवाटको एसी चार्जर पनि जडान गर्ने कम्पनीको भनाइ छ ।
हुन्डाईले बनाउने चार्ज सपमा ईभी टेक्नीसियन, बेसिक सर्भिस टुल्स र वेटिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ । अहिले जस्तो गाडी चार्जमा राखेपछि कहाँ गएर बस्ने भन्ने समस्या उपभोक्तालाई हुनेछैन ।