काठमाडौं । ‘न्यू इनर्जी भेहिकल’ उत्पादक कम्पनी बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फीन अहिले चीन र यूरोपको केही देशमा चर्चा चुलिएको मोडल हो । स्टाइलिस डिजाइन, उत्कृष्ट रेन्ज, आकर्षक मूल्य र एसयूभीको ‘फिल’ दिने फिचरको कारण विश्व बजारमा यसले चर्चा पाइरहेको हो ।
अहिले नेपालमा उपलब्ध टोयोटा राइजको साइजमा भएको डल्फीन बीवाइडीको ३.० ड्रागन फेस प्लेटफर्ममा उत्पादन भएको ह्याचव्याक कार हो । यसको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम छ । मिडसाइज एसयूभीमा हुने साइजको ह्वीलवेस यसमा पाउन सकिन्छ । ह्वीलवेसको लम्बाई २७०० एमएम छ ।
बीवाइडीले डल्फीनलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा दुई ह्वील अप्सन दिइएको छ । १६ र १७ इन्चको अलोय ह्वील, स्लीम हेडलाइट, आकर्षक बडी डिजाइन, पानारोमिक सनरुफ, एलइडी लाइडको कारण झट्ट हेर्दा नै यसले जो कोहीलाई लोभ्याउने छ ।
यसको इन्टेरियर निकै स्मार्ट फिनिसिङमा तयार पारिएको छ । भ्वाइस नेभिगेसन सहितको १२.६ इन्चको टचस्क्रिन सिस्टम, वायरलेस चार्जिङ पोर्ट, ३६० डिग्री पानारोमिक भ्यु क्यामेरा, आर्म रेस्ट जस्ता प्रिमियम कारमा उपलब्ध फिचर यसमा जडान गरिएको छ ।
यसमा भेहिकल टु लोड (भीटुएल) चार्जिङ, फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर, सुरक्षाको लागि एडीएस फिचर पनि दिइएको छ ।

कम्पनीले डल्फिन ईभीलाई विभिन्न पावर अप्सनमा ल्याएको छ । त्यसमध्ये नेपाल भने ७० किलोवाट र १५० किलोवाट क्षमताको दुई मोटर अप्सन अहिले बजारमा उपलब्ध रहेको छ ।
ब्याट्री पनि दुई अप्सनमा छनोट गर्न सकिन्छ । यसको स्टायडर्ड भेरियन्टमा ४५ किलोवाट आवर र लङ रेन्ज मोडलमा ६० किलोवाट आवरको ब्याट्री छ । बीवाइडीको चर्चित लिथियम आइरन फोस्फेट ब्लेड ब्याट्री रहेको कारण सुरक्षाको हिसावले अब्बल मानिन्छ । यो ब्लेड ब्याट्री कोबल्ट फ्री रहेको कम्पनीको दावी छ ।
डब्लुएलटीपीका अनुसार यसमा रहेको ब्याट्रीले सिङ्गल चार्जमा ४२६ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । कम्पनीका अनुसार यो ह्याचब्याकमा रहेको ब्याट्रीलाई ८८ किलोवाट क्षमताको चार्जरबाट २९ मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
डल्फीनमा स्पोर्ट, नर्मल र इको गरी तीन ड्राइभिङ मोड रहेको छ । १५० किलोवाटको मोटर रहेको मोडलले शून्यदेखि ९२ किलोमिटर प्रति घण्टाको टप स्पीड केबल ७.१ सेकेन्डमा भेट्टाउने छ । अबको केही महिना भित्रै यसलाई नेपाली सडकमा पनि गुडिरहेको देख्न सकिने छ ।

