काठमाडौं । बीवाइडी डल्फीन ह्याचव्याक सेग्मेन्टमा उपलब्ध कार हो । भदौ अन्तिममा भएको नाडा अटो शो २०२३ मा सार्वजनिक भएको डल्फीन अहिले धेरैको रोजाइमा पर्न सफल मोडल हो ।
नेपाली बजारमा प्रवेश गरेदेखि नै यसले निकै राम्रो बुकिङ पाइरहेको छ । अहिले पनि देशभर निकै राम्रो संख्यामा बुकिङ रहेको र निरन्तर ग्राहकलाई दिने काम पनि भइरहेको आधिकारीक बिक्रेता साइमेक्स इंकको भनाइ छ ।
ग्राहकको रुची बढ्दै जाँदा यसमा के कस्ता फिचर छन् र त्यसले ग्राहकलाई आकर्षित गर्न सफल भयो भन्ने चासो हामीमा पनि बढ्यो । त्यहि कारण हामीले यसलाई लामो टेस्ट ड्राइभ गर्ने निधो गरेका थियौं ।
‘काठमाडौं टु काँकडभिट्टा’ नाम दिएर हामीले यसलाई चलाउने निधो गरियो । त्यही थिममा रहेर हामीले ७०१ किलोमिटर यात्रा डल्फीनमा गरेका थियौं ।
किन बढ्यो आकर्षण
यसलाई धेरै मानिसले किन्ने निर्णय गर्नुको मुख्य कारण मूल्य, फिचर र गाडीको साइज भन्ने हाम्रो ठम्याई हो । त्यसमा पनि मूल्यको भूमिका महत्वपूर्ण रहयो । यसलाई कम्पनीले ३९ लाख ८० हजार मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
डल्फीनलाई बाहिरबाट झट्ट हेर्दा अगाडि बसेको र पछाडि उठेको देखिन्छ । धेरैलाई यो डिजाइन सुरुमा अनौठो लाग्छ । सधैं मिडसाइज एसयूभी प्रयोग गर्ने मानिसले चालक सिटमा बस्न जाँदा भित्र पस्ने क्रममा टाउको ठोक्ने सम्भावना धेरै हुन्छ । त्यसको हुनुको मुख्य कारण यसको डिजाइन हो । अगाडिको भाग निकै होचो छ ।

गाडी भित्र बसेपछि तपाई कार वा कुनै ह्याचव्याकमा बसेको भनेर विर्सनु हुन्छ । भित्र ड्यासबोर्ड, सेन्टर कन्सोल, स्टेरिङ ह्वीलको बनोट जस्ता कुराले लग्जरी एसयूभीको अनुभव प्रदान गराउँछ । बाहिरी आँखाले हेर्दा ग्राहकले मन पराउन यति कुरा काफी भएको हामीले पायौं ।
ड्राइभिङ अनुभव
पहिलो दिन काठमाडौंबाट धुलिखेल, सिन्धुली, भिमान, कटारी त्यहाँबाट सिराहा जिल्लाको मिर्चैया, लाहान हुँदै गाइघाट बजारसम्मको ३०९ किलोमिटर हामीले यात्रा गरेका थियौं । पहिलो दिनको यात्रामा हामीले जम्मा ६७ प्रतिशत चार्जमा ३०९ किलोमिटर यात्रा गरेका थियौं । यति यात्रापछि हामीले यसले दिने रेन्जको चर्चा गर्न छाड्यौं ।
कम्पनीले ३४० किलोमिटर रेन्ज दिने दावी गरेको गाडीमा ३३ प्रतिशत चार्ज बाँकी रहँदै हामीले ३०९ किलोमिटर गाडी चलाएका थियौं । त्यसले कम्पनीको दावी अनुसार रेन्ज जसले पनि पाउने देखियो । त्यसले रेन्जका विषय यहाँ चर्चा गर्नै परेन ।

दोस्रो दिन हामीले गाइघाटबाट यात्रा सुरु गरेका थियौं । गाइघाट हुँदै मेची पुलसम्मको यात्रामा हामीले यसमा रहेका क्रुज कन्ट्रोल, ब्रेक एसिस्ट, ३६० डिग्री क्यामेरा, एबीएस जस्ता फिचरको जमेर परिक्षण गरेका थियौं । दोस्रो दिन हामीले २८० किलोमिटर हाराहारी गाडी चलायौं । मेचीबाट फर्केर विर्तामोडमा आएर बास बस्यौं ।
तेस्रो दिन बिर्तामोडबाट शिबसताक्षी नगरपालीकाको भित्री गाँउमा हामी पस्यौं । यसको तराईका अफरोड बाटामा पनि परिक्षण गयौं । तेस्रो दिन कुल ११२ किलोमिटर यात्रापछि हामीले विर्तामोडमा नै उक्त गाडी छाडेर हवाई यात्राबाट काठमाडौं आयौं ।

लोभलाग्दा कुरा
डल्फीनको सबैभन्दा लोभलाग्दो कुरा यसको मूल्य हो । मिडसाइज एसयूभी जस्तो गाडी र त्यसमा पनि विश्वकै चर्चित व्लेड ब्याट्री प्रयोग भएको मोडल ४० लाखभन्दा कम मूल्यमा पाउनु ग्राहकको लागि फाइदाको विषय हो । अहिले नेपालमा सामान्य पेट्रोल कारको मूल्य नै ३० लाख माथि पुगिसकेको छ । यस्तोमा डल्फीनले मानिसलाई नतान्ने कुरै भएन ।

यसको सेन्टर कन्सोलमा दिइएको विभिन्न ठाँउ कप होल्डर, चार्जिङ पोर्ट, यूएसबी र टाइप सी पोर्ट, मोवाइल राख्ने ट्रे, पर्स राख्ने स्थान जस्ता प्रसस्त ठाँउ पाइन्छ । साथै निकै सहज ठाँउमा दिइएका कन्ट्रोल बटमहरुले गाडी चलाउँदा चलाउँदै त्यसको प्रयोग गर्न सजिलो बनाएको छ ।
निकै आरामदायी सिट यसको अर्को सबल पक्ष हो । अगाडि दुई सिट मात्रै होइन पछाडिको सिट पनि निकै आरामदायी छ । साथै यसको एसी पनि निकै राम्रो पर्फमेन्स गर्ने किसिमको छ । ड्यूल टोनमा सजाइएको ड्यासबोर्ड पृथक डिजाइनमा पाउन सकिन्छ भने रोटेड इन्फोटेन्टमेन्ट सिस्टम बीच भागमा दिइएको छ ।


