सबैभन्दा धेरै मूल्य घटाउने कम्पनी बन्यो विवाइडी, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं । विवाइडीले आफ्नो चर्चित इलेक्ट्रीक कारको मूल्यमा व्यापक कटौती गरेको छ । कम्पनीले एक वर्षअघि ६६ लाखमा विक्री गर्दै आएको इ-६ को नयाँ मूल्य ५० लाख रुपैयाँ तोकेको हो । कम्पनीले गतवर्ष भन्सार र अन्तःशुल्क बढेपछि भने मूल्य सूची निकालेको थिएन ।

विवाइडीको आधिकारीक विक्रेता साइमेक्स इङ्कले २०७७ जेठ १५ गते अगाडिको मूल्यमा पनि व्यापक कटौती गरेर मूल्य निर्धारण गरेको हो । करिब १६ लाख रुपैयाँले मूल्य घटेको विवाइडी इ-६ मा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ८० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री रहेको छ ।

‘हामीले धेरै समयदेखि नेपालमा विवाइडीका गाडी विक्री गर्दै आएका छौं । जटिल समयमा पनि काम गर्दै आएको अवस्थालाई हेरेर विवाइडी कम्पनीले नै मूल्यमा केही सरल गरेकाले प्रतिस्पर्धी मूल्यमा गाडी ल्याउन सफल भएका हौं’, साइमेक्स इङ्कको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले मेरोअटोसँग भनिन् ।

इ-६ सँगै कम्पनीले ७ सिटर क्षमताको एम-३ मूल्य ४६ लाख, ५ सिटर क्षमताको एम३ को ४३ लाख र दुई सिट क्षमताको टी-३को मूल्य ३८ लाख रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।

कम्पनीले विवाइडी इ-६ को मूल्यमा व्यापक कटौती गरेको भएपनि अन्य मोडल सात सिट क्षमताको एम-३ मा २ लाख रुपैयाँले मात्रै कम गरेको छ । अघिल्लो वजेट लगत्तै नेपाल आएको टी-३ को मूल्य भने ९ लाख रुपैयाँले कम भएको छ ।

बीवाईडी इ-६ नेपालमा राष्ट्रपतिको सवारीमा समेत प्रयोग हुँदै आएको गाडी हो । एक पटक फुल चार्जमा ४ सय किलोमिटर रेञ्ज दावी गरिएको छ ।

बीवाईडी एम-३ सात जनासम्म मानिसले यात्रा गर्न सक्ने मल्टी प्रपोज भ्यान हो । यसको ७ सिटर मोडलमा १०० किलोवाटको मोटर छ भने ५ सिटरमा ९० किलोवाटको मोटर जडान भएको छ । एक पटकको चार्जमा यसलाई ३१० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।


Back_to_top