बीवाइडीले ७ महिनामै पूरा गर्यो सिगलको २ लाखको माइलस्टोन

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आफ्नो लाइनअपको सबैभन्दा सानो ईभी सिगल उत्पादनको २ लाखको माइलस्टोन पूरा गरेको छ ।

यसै वर्षको अप्रिलदेखि बिक्री सुरू भएको सिगलले ७ महिनामै २ लाखको माइलस्टोन पार गर्न सफल भएको हो ।

पहिलो महिना अप्रिलमा १ हजार ५०० संख्यामा बिक्री भएको सिगलको बिक्री प्रत्येक महिना उल्लेख्य रुपमा बढ्दो क्रममा छ । अक्टोवर एक महिनामा मात्रै ४३ हजार ३५० वटा बिक्री भएको थियो ।

बीवाइडीको सबैभन्दा अफोर्डबल कार सिगल चिनियाँ बजारमा १० हजार ४०० देखि १२ हजार ६०० डलरमा बिक्री भइरहेको छ ।

सिगलको इन्टेरियरमा ५ इन्चको इन्टुमेन्ट क्लस्टर स्क्रीन तथा १२.८ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन गरी २ वटा स्क्रीन रहेको छ । फ्ल्याट बटम स्टेरिङ ह्वील, वायरलेस चार्जिङप्याड, दुई वटा कप होल्डर, स्टेरिङ माउण्टेड कन्ट्रोल स्वीच, एयर कण्डिसन जस्ता क्याबिन फिचर छन् ।

सिगलमा ३० किलोवाट आवर तथा ३८ किलोकिलोवाट आवर गरी दुई साइजको एलएफपी ब्याट्रीप्याक रहेको छ । जसले क्रमशः ३०५ र ४०५ किलोमिटरको रेन्ज प्रदान गर्छ । दुवै ब्याट्रीसँगै डीसी फास्ट चार्जिङको अप्सन रहेको छ जसको सहयोगले ३० मिनेटमै ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिनेछ ।

सिगलमा ७५ हर्सपावर जेनेरेट गर्ने ५५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसको टप स्पीड १३० किलोमिटर प्रतिघण्टाको छ ।

सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५४० एमएम तथा २५०० एमएमको ह्वीलबेस रहेको छ । फोर सिटर ५ डोर कन्फिगरेसनमा आउने सिगलको पोजिसनिङ बीवाइडी डल्फिनभन्दा तल रहेको छ ।


Back_to_top