काठमाडौं । चिनियाँ इलेक्ट्रीक कार तथा ब्याट्री निर्माता कम्पनी बीवाइडीले ७०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक सेडान कार अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । बीवाइडीले आगामी जनवरी १३ देखि १८ सम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ मा सील सेडान कार देखाउने भएको हो।
ओसन एस्थेटिक स्टाइलिङ फिलोसोफीबाट प्रभावित ओसन एक्स कन्सेप्टमा आधारित बीवाइडी सील यसअघि अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएको मोडल हो ।
बीवाइडी सील सेडान डेडिकेटेड स्केटबोर्ड प्लेटफर्ममा तयार गरिएको कार हो । यसको लम्बाई ४८०० एमएम, चौडाई १८७० एमएम र उचाइ १४६० एमएम रहेको छ । ह्वीलवेस भने २९२० एमएम छ ।
इलेक्ट्रीक सेडानमा फ्यूचरिस्टिक एक्सटेरियरको साथमा फरवार्ड डिपिङ बोनेट, शार्प हेडल्याम्प क्लस्टर, स्पोर्टी अलोय ह्वील, स्मार्ट डोर ह्यान्डल, सर्ट ओभर ह्याङ्ग्स, वाइड लोअर एयर इन्टेकसहितको एग्रेसिभ बम्पर, बुमराङ आकारको एलईडी डीआरएल लाइट्स र गाडीको चौडाईलाई कभर गर्ने फुल-चौडाई एलईडी लाइटबार पाउन सकिन्छ ।
सेडानको इन्टेरियर बीवाईडी एट्टो थ्रीसँग मिल्दोजुल्दो रहेको छ । यसमा १५.६ इन्चको रोटेट गर्न मिल्ने फराकिलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा एचयूडी, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोडका अप्सन, वायरलेस स्मार्टफोन चार्जर, ठूलो एसी भेन्ट, फ्ल्याट-बटम स्टेरिङ ह्वील र टु-टोन क्याबिन थिम पाउन सकिन्छ ।
बीवाईडी सीलमा ६१.४ किलोवाट र ८२.५ किलोवाट गरी दुई ब्याट्री प्याकको विकल्प दिइएको छ । यसले एकपटकको चार्जमा क्रमशः ५५० र ७०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ ।
डुअल मोटर अल ह्वील ड्राइभ भेरियन्टमा ५३० हर्स पावर प्रदान गर्ने मोटर दिइएको छ । साथै, ६५० किलोमिटर रेन्ज भएको यसले ३.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिने दाबी गरिएको छ ।
कम्पनीले एक्स्पोमा बीवाइडी सीलसँगै पछिल्लो समय भारतमा बिक्री सुरु भएको ई६ एमपीभी र हालै सार्वजनिक भएको एटो थ्री समेत प्रदर्शनी गर्नेछ ।

