कम मूल्यको स्टाइलिस एसयूभी ल्याउँदै बीवाइडी

काठमाडौं । बीवाइडी एटो-३ चीनमा युआन प्लस नामले परिचित छ भने अन्तर्राष्ट्रिय बजारमा एटो-३ नामले चिनिन्छ । निकै तिब्र गतिमा बजार बिस्तार गरिरहेको युआन मोडललाई थप बलियो बनाउन कम्पनीले युआन-अप नामबाट नयाँ एसयूभी तयार गरेको हो ।

मूल्यको हिसावले एटो-३ भन्दा सस्तो हुने नयाँ एसयूभी साइजमा पनि हल्का सानो हुनेछ । बीवाइडीलेचिनियाँ मिनीस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नोलोजीमा बुझाएको नयाँ एसयूभीको डकुमेन्ट बाहिर आएको हो । डकुमेन्ट बाहिर आएसँगै नयाँ मोडलको बारेमा धेरै विवरण सार्वजनिक भएका छन् ।

बीवाइडी युआन-अप ५ सिट क्षमताको एसयूभी हुनेछ । यसको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम, उचाई १६७५ एमएम रहने छ । साथै, यसमा २६२० एमएमको ह्वीलवेस दिइने छ ।

कम्पनीले यसलाई दुई मोटर अप्सनमा बजारमा ल्याउने छ । रिपोर्टका अनुसार सानो ७० किलोवाट र ठूलो १३० किलोवाटको मोटरमा युआन–अप मोडल उपलब्ध हुनेछ । बीवाइडीको नयाँ एसयूभी ल्याउने खबरसँगै यूरोपियन र अमेरिकी कार निर्मातालाई थप दवाव परेको विश्लेषण सुरु भएको छ ।

ब्याट्री साइजको विषयमा केहि जानकारी प्राप्त नभएता पनि कम्पनीको चर्चित ब्लेड ब्याट्री यसमा रहने छ । एसयूभीको कुल तौल १५४० केजी हुनेछ भने यसको टप स्पीड क्षमता अधिकतम १६० किलोमिटर प्रतिघण्टा हुनेछ ।

बीवाइडी डायनेस्टी सीरीजमा पर्ने यो एसयूभीमा सनरुफ र रियर स्पोइलर अप्सनल रहने छ । नयाँ एसयूभीमा १६ र १७ इन्चको ह्वील अप्सन दिइने छ । जुन अहिले एटो-३ मा पनि दुई अप्सन पाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य कति पर्छ अहिल्यै एकिन गर्न सकिदैन । तर, चीनमा भने यसको सुरुवाती मूल्य १४ हजार डलर हाराहारी पर्ने बताइएको छ ।


Back_to_top