केही दिनमै कारको मूल्य बढ्ने संकेत !

काठमाडौं । जनवरी २०२२ लागेसँगै भारतमा अधिकांश कार निर्माताले मूल्य बढाएका छन् । विश्वमा कोभिड १९ को संक्रमण फैलिनु अघि वर्षमा एक वा दुई पटक वृद्धि हुने मूल्य अहिले वर्षमा ३ देखि ४ पटकसम्म बढ्ने अवस्था आएको हो ।

नेपालमा गाडी उत्पादन नहुनु र भारतबाट आयात हुने मूल्यमा परिवर्तन भएसँगै कम्पनीहरुले मूल्य वृद्धि गर्ने हुँदा कारको मूल्य तिब्र गतिमा बढेको बुझिन्छ । भारतमा नै हरेक ३ महिनामा मूल्य बढ्नुको मुख्य कारण उत्पादन कटौती, उत्पादन लागतमा वृद्धि, सेमी कन्डक्टरको सर्टेज, कच्चा पदार्थ आयातमा लाग्ने ट्रान्सपोर्टेशन खर्चमा भएको वृद्धि जस्ता कारणलाई मुख्य मानिएको छ । त्यही आधारमा भारतमा कारको मूल्य हरेक क्वाटरमा वृद्धि भइरहेको छ ।

नेपालमा मोटरसाइकल विक्रेताले वर्षमा ६ पटकसम्म मूल्य बढाएका छन् । तर, कार विक्रेताहरुले वर्षमा दुई पटकसम्म मूल्य समायोजन गर्दै आएको देखिन्छ । भारतमा विभिन्न कम्पनीले जनवरी २०२२ लागेसँगै १० हजारदेखि ५० हजारसम्मले आफ्ना कारमा मूल्य बढाएका छन् ।

कम्पनीहरुले भारतमा एक्सशोरुम मूल्यमा वृद्धि गरेसँगै नेपाल आउने कारको पनि केही मूल्य बढ्ने विक्रेताहरुको भनाई छ ।

‘नोभेम्बर र डिसेम्बरमा गाडीको सप्लाईमा समस्या भयो । यहाँ बुकिङ गरेर बसेका ग्राहकलाई पनि गाडी दिन सकिएन । तर, जनवरी अन्तिमबाट सप्लाईमा केही सुधार भएको छ । गाडीको मूल्य बढेर आयो, अब बुकिङ गरेका मानिसलाई के भनेर पैसा थप भन्ने’, एक गाडी विक्रेताले मेरोअटोसँग भने ।

उनको जस्तै अधिकांश कम्पनीको दशैं तिहारको समयमा सप्लाईमा समस्या आएको र अहिले गाडी आउन थालेपछि मूल्य बढेको भनाई छ । यसले चाँडै बजारमा गाडीको मूल्य वृद्धि हुनेसंकेत देखिएको छ ।

फेब्रुअरी अन्तिमबाट अधिकांश कम्पनीले २०२२ मोडलको विक्री सुरु गर्ने छन् । नयाँ वर्षमा उत्पादन भएका कार आयात सुरु भएसँगै मूल्य बढ्ने संकेत देखिएको हो ।


Back_to_top