६ लाखभन्दा कम तिरेर दशैंमा घर लान सकिने पाँच कार

काठमाडौं । चाडपर्व नजिक आइसकेको छ । नाडा अटो शोको सुरुवातसँग गाडी बिक्रेता कम्पनीहरुले चाडपर्व लक्षित ब्यापार सुरु गर्छन् । अबको २० दिनमा सबैभन्दा ठूलो चाड दशैं समापन हुनेछ । यस्तोमा दशैंमा थोरै रकम जम्मा गरेर एउटा कार किन्ने योजना बनाउनु भएको छ भने तपाईले बजारमा थुप्रै अप्सन पाउनु हुनेछ ।

अहिले बजारमा चिनियाँ ब्राण्डदेखि भारतीय उत्पादकहरुका साना गाडी छनोट गर्न पाइन्छ । टाटा, एमजी, नामी, केई र विलिङले आफ्ना साना गाडी बजारमा बिक्री गर्दै आएका छन् । मूल्यका हिसावले ३० लाखभन्दा कम मूल्यका कार किन्दा तपाईले ६ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ ।

विद्युतीय कारमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध हुने भएको कारण उपभोक्ताले सुरुमा २० प्रतिशत रकम तिर्दा पुग्छ । नियमित आम्दानीको स्रोत भएका मानिसले सुरुमा ६ लाख रुपैयाँ तिरेर बजारमा किन्न पाउने उत्कृष्ट कार निम्न प्रकारका छन् ।

टाटा टियागो ईभी

सिप्रदीले बिक्री गर्दै आएको टियागो ईभी नेपालमा सर्वाधिक सफल ह्याचव्याक इलेक्ट्रीक कार हो । नेपाल आएको एक वर्षमा झण्डै दुई हजार यूनिट बिक्री भएको टियागो एउटा उपयुक्त पारिवारीक कारसमेत हो ।

टियागो ईभी नेपालमा तीन भेरियन्टमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्ट एक्सटीको मूल्य २७ लाख ४९ हजार कायम गरेर बिक्री हुँदै आएको छ । त्यस्तै एक्सजेड प्लस भेरियन्टको मूल्य २८ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी मध्ये कुनै पनि भेरियन्ट किन्न ६ लाख रुपैयाँ डाउन पेमेन्ट वापतको रकम भए पुग्छ ।

टाटा टियागो ईभीमा ४९ किलोवाट आवरको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क प्रदान गर्छ । टाटाले यसमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरेको छ ।

विलिङ विङ्गो

विलिङ विङ्गो सेग्मेन्टकै सर्वाधिक फिचर भएको ह्याचव्याक कार हो । पारामाउन्ट मोटर्सले नेपालमा बिक्री गर्दै आएको विङ्गो मोडल नेपाल आएको चार महिना मात्रै भएको छ ।

झण्डै चार मिटर लामो विङ्गो ह्याचव्याक क्लासिक लुक्समा तयार भएको कार हो । यसलाई कम्पनीले २९ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । यसअघि ३२ लाख ९९ हजार मूल्य तोकिएको विलिङमा दशैं स्कीम भनेर कम्पनीले छुट दिएको हो ।

विलिङ विङ्गो कारमा ३२ किलोवाट आवर क्षमताको ब्याट्रीप्याक छ । ४९ किलोवाटको मोटर रहेको कारले राम्रो रेन्ज दिन्छ । यसलाई कम्पनीले एउटा मात्रै भेरियन्टमा बिक्री गर्दै आएको छ ।

नामी-०१

डोङफेङ मोटर्सको नामी ह्याचव्याक अहिले सर्वाधिक चर्चामा रहेको ह्याचव्याक कार हो । एमएडब्लू वृद्धिले सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको नामी ह्याचव्याक तीन भेरियन्टमा उपलब्ध छ ।

ई-१, ई-२ र ई-३ नामबाट आएको तीन भेरियन्ट मध्ये ई–१ मात्रै ६ लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सकिन्छ । यसमा ३१.४ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सक्नुहुन्छ ।

एमजी कोमेट

मूल्यका हिसावले निकै सस्तो एमजी कोमेट दुई भेरियन्टमा उपलब्ध छ । कोमेटको इन्ट्री भेरियन्टको मूल्य १८ लाख ४९ हजार र टप भेरियन्टको मूल्य २१ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

रेगुलर ह्याचव्याक भन्दा फरक लुक्स र डिजाइनमा उत्पादन भएको कोमेटमा १७ किलोवाट आवर क्षमताको ब्याट्री र ३० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसलाई सहरका साँघुरा सडकमा पनि सजिलै चलाउन सकिन्छ ।

यी दुबै मोडलको डाउन पेमेन्ट ५ लाख हाराहारी मात्रै पर्छ ।

केई क्यूट-०२

केईले नेपाल ल्याएको इक्यूट-०२ पनि दुई भेरियन्टमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्टमा १७ किलोवाट आवर र टप भेरियन्टमा २८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

यसका दुबै भेरियन्टको मूल्य क्रमशः १९ लाख ९६ हजार २२ लाख ९६ हजार रुपैयाँ रहेको छ । सहर केन्द्रित क्यूट-०२ मोडलमा ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।


Back_to_top