काठमाडौं । स्मार्टफोनको विश्वव्यापी प्रयोग बढेसँगै गाडीमा पनि टचस्कृन इन्फोटेन्मेन्ट सिस्टमको प्रयोग बढेको देखिन्छ । मानिसको हातहातमा टचस्कृन स्मार्टफोन पुग्न थालेसँगै कारमा पनि टचस्कृनको जरुरत महसुस भएको थियो ।
कारमा डिजिटल स्कृन सन् १९८७ मै जनरल मोटर्स (जीएम)को लग्जरी कार ‘बुइक रिभियरा’मा देखिएको थियो । तर, यसको ब्यापक प्रयोग सन् २००० पछि मात्रै भएको हो ।
सुरुमा प्रिमियम कारमा मात्रै उपलब्ध हुने टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम इन्ट्री लेवल कारमा नै उपलब्ध हुन थालेको छ । आजका कारमा सबैले पहिला खोज्ने फिचर टचस्कृन बन्न पुगेको छ ।
गाडीमा दिइएको टचस्कृनको प्रयोग गाडी चलाउँदा चलाउँदै मोवाइल फोन चलाउनेदेखि आजकल आएका धेरै गाडीको हेडलाइटदेखि एसीसम्म यसबाटै अपरेट गर्नु पर्ने भएको छ ।
कार पार्किङ गर्दा होस् वा ब्याक गर्दा पछाडिको दृष्य हेर्नका लागि ओआरभीएमको तुलनामा स्कृनमा हेर्ने गरिन्छ । अहिलेका कारमा पछाडिको दृष्य रिभर्स गियर लगाउने बित्तिकै कारको ड्यासबोर्डमा आउने हुँदा चालकलाई सहज भएको छ ।
प्रिमियम मोडलहरुमा उपलब्ध ३६० डिग्री क्यामराको फिचरले जस्तोसुकै साँघुरा बाटाहरुमा पनि गाडी चलाउन सहज बनाएको छ । यसका अलावा नयाँ ठाँउमा यात्रा गर्दा न्याभिगेसन चलाउन पनि टचस्कृन अनिवार्य हुन थालेको छ ।
साइज बढ्दै टचस्कृन
अहिलेका अत्याधुनिक कारमा फिजिकल बटनहरु हराउँदै गएका छन् । एसी कन्ट्रोल, म्यूजिकको भोलुम कन्ट्रोल तथा लाइटको कन्ट्रोल पनि डिजिटल भएको कारण त्यसलाई स्कृनबाटै कन्ट्रोल गर्नु पर्ने हुन्छ ।
केही वर्षअघि ५ वा ७ इन्चको प्रयोग हुने यस्ता स्कृनहरु अहिले औषतमा १० इन्चको हुन थालेका छन् । अमेरिकी लग्जरी कार निर्माता टेस्लाले सुरुवातमै १७ इन्चको इन्फोटेन्मेन्ट प्रयोग गरेको थियो । यो साइज धेरैले प्रयोग गर्ने ल्यापटपको भन्दा ठूलो हो ।

विश्व अटोमोवाइल इन्डष्ट्री ग्यासोलिनबाट ईभीमा सिफ्ट हुन थालेपछि त झन् इन्फोटेन्मेन्ट सिस्टमको औचित्य अझै बढेको छ । ईभी कारहरु त झन् एक अटोमोवाइल प्रोडक्ट मात्र नभई डिजिटल ग्याजेटको रुपमा प्रयोग हुन थालेका छन् । ईभीहरुमा टचस्कृन मात्र नभई, भ्वाइस कमाण्ड र एडास फिचरहरुले गर्दा कारहरु पूर्णरुपमा कम्प्यूटराइज हुन थालेका छन् ।
अबको केही समयमा कारको सबै फङ्सन भ्वाइस कमाण्डबाटै कन्ट्रोल गर्न सकिने प्रविधिको समेत विकास हुनेछ ।
अटोमोवाइल टेक्नलोजीमा डिजिटाइज भएसँगै अव आउने प्रत्येक कारमा टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम हुनै पर्ने भएको छ । र, सबै फङ्सन त्यही स्कृनबाट संचालन गरिने भएकोले यसको साइज पनि ठूलो हुदै गएको देखिन्छ ।


