काठमाडौं । बैंक तथा वित्तिय संस्थामा लगानी योग्य रकम बढेपनि कर्जा प्रबाह सहज हुन नसक्दा गाडीका शोरुममा मानिसको चहल पहल अत्यन्त न्यून रहेको छ । बैंकमा पैसा हुँदा पनि शोरुममा गाडी किन्ने मानिस नआउनुलाई अर्थतन्त्र सुधारमा ठोस काम नभएको मान्न सकिन्छ ।
विगत तीन महिनादेखि अर्थतन्त्रका सूचकहरु निकै सकारात्मक रहेको तथ्यांकहरु सरकारले सार्वजनिक गरेपनि त्यसको प्रभाव अर्थतन्त्रमा पर्न नसक्दा आर्थिक गतिविधि बढ्न नसकेको हो ।
अहिले गाडीका शोरुमहरुमा नयाँ नयाँ मोडलहरु राखिएपनि गाडी किन्ने ग्राहक आउन नसकेको विक्रेताहरुको भनाई छ ।
‘हाम्रा शोरुममा नयाँ मोडलहरु छन् । आयात प्रतिबन्ध खुलेसँगै २०२३ मोडल नै उपलब्ध छ । तर, गाडी हेर्न आउने ग्राहकको संख्या बढ्न सकेको छैन’, निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
चन्दका अनुसार नयाँ गाडी शोरुममा उपलब्ध भएपनि महंगो ब्याजदर, कर्जा दिन कठिनाई र कर्जा प्रोसेसमा पनि समय लाग्ने कारण धेरैले गाडी किन्ने योजना थाँती राखिरहेका छन् ।
विद्युतीयमा आकर्षण
कम्बस्चन इन्जिनयुक्त गाडी किन्ने मानिस नभएपनि विद्युतीय गाडी किन्ने मानिसको शोरुममा उपस्थिति राम्रै रहेको छ । अहिले ईभी किन्ने ग्राहकको रोजाईमा टाटा, हुन्डाई, बीवाइडी, एमजी लगायत ब्राण्डका उत्पादन छन् ।
पछिल्लो एक महिनामा बीवाइडी एटो थ्री र एमजी जेडएस ईभी १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुने घोषणा भएसँगै यी गाडी बुकिङ गर्ने ग्राहक बढेका छन् । यी दुबै ब्राण्डका गाडी अहिले सबैभन्दा धेरै वेटिङ पिरियड भएका मोडल हुन् ।
आयात प्रतिबन्ध खुल्ला भएसँगै कम्बस्चन इन्जिन भएका जीप, हुन्डाई, किया, फोर्ड, महिन्द्रा जस्ता ब्राण्डका नयाँ मोडल नेपाल आएपनि सोचे जस्तो कारोबार गर्न सकेका छैनन् ।


