काठमाडौं । कार चढ्ने चाहना सबैजसो नागरिकको हुन्छ । तर मूल्य, उपलब्धता लगायतका करण सबैको पहुँचमा पुगेको हुँदैन । विश्वका कुन देशमा कति मानिसले कर चढ्लान धेरैको लागि यो चासोको विषय हुनसक्छ ।
अमेरिकामा १ हजार मानिसमा ८ सय ३७ जनाले कार चढ्ने गरेको तथ्यांकले देखाएको छ । अमेरिका संसारको सबैभन्दा धेरै निजी कारको पहुँच भएको देश हो । अमेरिका पछि धेरै कार चढ्ने मानिस भएको देश हो अष्ट्रेलिया । अष्ट्रेलियामा १ हजार जनामा ७ सय ४७ जनाले आफ्नै कार चढ्छन् ।
नेपालमा १ हजार जनामा कति जनाले कार चढ्लान भन्ने चासो हुनु स्वभाविक हो । आजसम्म पनि सरकारले कारलाई विलाशी साधनको रुपमा हेर्दै आएको छ । त्यसैले पनि नेपालमा कार चढ्नुलाई ठूलै प्रतिष्ठाको रुपमा हेरिन्छ ।
नेपालमा आर्थिक वर्ष २०७४/७५ सम्म कार, जीप तथा भ्यान र पिकअप गरेर ३ लाखभन्दा बढी दर्ता भएको देखिन्छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६८ लाखभन्दा बढी रहेको छ । यसलाई आधार मानेर हेर्दा नेपालमा १ हजार जना मानिसमा ११ जना कार चढ्ने गरेका छन् । यो अन्य देशहरुको तुलनामा निक्कै कम हो ।
भारतमा १ हजार मानिसमा २२ जनाले कार चढ्ने गरेको तथ्यांक द स्पेकटेटर इन्डेक्सले सार्वजनिक गरेको छ । त्यस्तै नेपालको अर्को छिमेकी देश चीनमा १ हजार जनामा १ सय ७३ जनाले आफ्नै कार चढ्ने गरेका छन् ।
इटालीमा १ हजार जनामा ६ सय ९५ जनाले कार चढ्दा जापानमा ५ सय ९१ जनाले आफ्नै कार प्रयोग गर्छन् । त्यस्तै क्यानडामा १ हजार जनामा ६ सय ७० जनाले र जर्मनीमा ५ सय ८९ जनाले आफ्नै कार चढ्ने गरेको तथ्यांक छ ।
बेलायतमा १ हजार जनामा ५ सय ७९ जनाले आफ्नै कार चढ्दा फ्रान्समा ५ सय ६९ जनाले कार चढ्ने गरेका छन् । मलेशियामा पनि निजी कार प्रयोगकर्ताको संख्या उल्लेख्य रहेको छ । मलेशियामा १ हजार पनामा ४ सय ३३ जनासंग आफ्नै कार रहेको छ ।
रसियामा १ हजार जनामा ३ सय ७३, ब्राजिलमा ३ सय ५०, मेक्सिकोमा २ सय ९७, साउदी अरबमा २ सय ९, टर्कीमा १ सय ९९, इरानमा १ सय ७८, दक्षिण अफ्रिकामा १ सय ७४, इन्डोनेसियामा ८७ र नाइजेरियामा ६४ जना मानिससँग आफ्नै कार रहेको छ ।



