काठमाडौं । नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड सेवा प्रविधि नेपाल बैंकको सहकार्यमा एन क्लाउड प्रालिले भित्र्याएको छ।
यो प्रविधि हाललाई साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।
दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाबाट पैसा तिर्न सकिने छ। पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमा कार्ड ट्याप गरेर टिकट लिन सकिने छ।
दोस्रो तरिकामा बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ। यसमा टिकट प्रिन्ट हुँदैन र यो केवल कार्ड भएको ग्राहकहरुले मात्र प्रयोग गर्न सक्नेछन्।
कम्पनीकाअनुसार सो कार्डमा एक पटकमा अधिकतम १ हजार रुपैयाँसम्म राख्न सकिनेछ।
यस प्रविधिमा क्यास टिकेट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ। निकट भविष्यमा स्मार्ट कार्डलाई अन्य क्षेत्र जस्तै पेट्रोल पम्प, पसल, पार्किङ, स्कूल तथा कलेजमा प्रयोग गर्न सकिनेछ।
स्मार्टकार्ड के हो ?
स्मार्टकार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ। स्मार्ट कार्ड अन्तर्राष्ट्रिय स्तर अनुरुप पैसाको सट्टा अहिलेको प्रविधि अनुसार प्रयोग हुने कार्ड हो। यो कार्ड बसका सहचालकहरुसँग किन्न सकिनेछ । कार्डमा पैसा सकिएको अवस्थामा बसकै सहचालकहरुबाट रिचार्ज गर्न सकिनेछ।
कार्ड रिचार्ज गर्न र कार्डमा ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइसमात्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।


