नेपालमा उपलब्ध सानो मोटरसाइकलको फरक अवतार

काठमाडौं । नेपालमा उपलब्ध सानो र स्टाइलिस मोटरसाइकल मध्येको एक सीएफ मोटो पापियो १२५ लाई फरक अवतारमा बजारमा ल्याउने तयारी भएको छ । चिनियाँ ब्राण्डले आफ्नो मिनी मोटरसाइकललाई निकै आकर्षक क्याफेरेसर डिजाइनमा यसलाई ल्याउने भएको हो ।

विश्वभर चिनियाँ ब्राण्डहरु अनौठो प्रयोगको लागि परिचित छन् । उनिहरु आफ्ना उत्पादनमा पृथक प्रयास गरिरहेका हुन्छन् । तर, भारतीय मोटरसाइकल उत्पादकहरु धेरै उत्पादन गर्नमा संसारभर परिचित रहेका छन् । त्यस्तै जापानी तथा यूरोपीयन ब्राण्डहरु भने स्पोर्टस् मोटरसाइकल उत्पादन गर्न माहिर देखिन्छन् ।

यस्तोमा चिनियाँ मोटरसाइकल उत्पादक कम्पनीले १२५ सीसी मिनी क्याफेरेसर मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । नेपालमा समेत आफ्नो उत्पादन विक्री गर्दै आएको सिएफ मोटोले केही दिन भित्रै पापियो १२५ को क्याफेरेसर मोडल बजारमा उतार्ने छ ।

इन्टरनेटमा नयाँ मोटरसाइकलको तस्विर सार्वजनिक भएसँगै यसको चर्चा अहिले चलिरहेको छ । कम्पनीले विक्री गर्दै आएको पापियो मिनी मोटरसाइकलमा आधारित ‘पापियो एक्सओ-१ क्याफेरेसर’मा बारइन्ड मिरर, क्लिप-अन ह्याण्डलबार, राउण्ड सेप स्पीडो मिटर, स्टबी सबफ्रेम दिइएको छ ।

कम्पनीले क्याफेरेसरलाई पापियो मिनीभन्दा फरक लुक दिनका लागि यसको फ्यूल ट्याङ्क, ह्याण्डलबार, फ्रन्ट लुक, सिट, इन्डिकेटर मिरर जस्ता पार्टस्लाई नयाँ डिजाइनमा ल्याएको हो ।

पापियो एक्सओ-१ को फ्रन्टमा यूएसडी फर्क, ट्वीन एलइडी सर्कल हेललाइट, फुल डिजिटल सर्कल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर उपलब्ध छन् । यसको मूख्य आकर्षण भनेको यसको फियरिङ हो ।

यसका अलावा मोटरसाइकलको फ्रेम र इन्जिन भने पापियोबाट नै लिइएको छ । यसमा पापियो मिनीमा नै रहेको १२५ सीसी सिंगल सिलिन्डर इन्जिनले ९.४ बीएच पावर तथा ८.२ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले लाइफस्टाइल प्रोडक्टको रुपमा ल्याउने यो क्याफेरेसरको मूल्य ४ हजार ५०० डलर (५ लाख ८५ हजार) रुपैयाँ बराबर हुने अनुमान रहेको छ । कम्पनीले यसलाई अमेरिकी बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । अमेरिकी बजारमा यस्ता मोटरसाइकल निकै सफल मानिन्छन् ।


Back_to_top