निसान र रेनोले भारतमा ३ नयाँ कार ल्याउने

काठमाडौं । विश्वभर एलायन्स बनाएर काम गरिरहेको रेनो-निसानले भारतीय बजारलाई ध्यानमा राखेर ३ नयाँ मोडल ल्याउने योजना तयार गरेका छन् ।

निसान र रेनोले भारतमा एउटै प्लान्ट र प्लेटफर्म प्रयोग गरेर गाडी उत्पादन गर्दै आएका छन् । दुबै ब्राण्डले म्याग्नाइट र काइगर मोडलपछि कुनै पनि नयाँ मोडल बजारमा ल्याएका छैनन् ।

रेनो-निसान एलायन्सले भारतमा ४ हजार करोडको थप लगानी गर्ने घोषणासँगै नयाँ प्रोडक्टको योजनाहरु पनि बाहिर ल्याएको हो । अहिले भारतीय बजारका लागि रेनोसँग क्वीड, काइगर र ट्राइवर रहेको छ ।

निसानले भने म्याग्नाइट र किक्स उत्पादन गरिरहेको छ । निसान किक्स पनि अब लगभग बन्द भएको छ । यसको आधिकारीक घोषणा हुन बाँकी छ ।

रेनो डस्टर र निसान किक्सको ठाँउमा ग्रुपले डस्टरको तेस्रो जेनेरेशन मोडल सन् २०२४ मा ल्याउने भएको हो । नयाँ जेनेरेशन डस्टर रेनो–निसानले संयुक्त रुपमा विकास गरेको सीएमएफ बी मोडुलर प्लेटफर्ममा बन्ने छ ।

यसमा निसानले पनि नयाँ मिडसाइज एसयूभी उत्पादन गर्ने तयारी थालेको छ । नयाँ जेनेरेशन डस्टर रेनोको सिस्टर कम्पनी डासियाको बिगस्टर कन्सेप्टमा आधारित हुनेछ । यो एसयूभी ५ र ७ सिट अप्सनमा भारतमा बन्नेछ ।

त्यसैगरी निसानले रेनोको एमपीभी ट्राइबरमा आधारित नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको छ । सीएमएफ ए प्लेटफर्ममा बनेको रेनो ट्राइबरलाई निसानले आफ्नो ब्याचमा उतार्नेछ ।

दुबै ब्राण्डले भारतीय बजारलाई मध्यनजर गर्दै सीएमएफ एईभी प्लेटफर्ममा आधारित रहेर ए सेग्मेन्ट इन्ट्री लेवल ईभी ल्याउने योजना तयार गरेका छन् ।

रेनोले चीनमा उत्पादन गरिरहेको ‘क्वीड इटेक’ भारतमा ल्याउने छन् । निसान र रेनो दुबै ब्राण्ड नेममा आउने ईभी भारत र कम मूल्यका ईभी खोज्ने अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध गराउने ग्रुपले योजना तयार गरेको छ ।


Back_to_top