चीनमा बनेका टेस्लाका कार नेपाल आउन सुरु

काठमाडौं । नेपाली बजारमा अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्ला ब्राण्डको कारहरू चीनबाट आयात हुन थालेको छ । यसअघि अमेरिकामा उत्पादन भएका टेस्लाका कार आयात हुँदै आएकोमा अब भने चीनमा उत्पादन भएका मोडल आउन थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको पुष महिनाको तथ्यांक अनुसार चीनबाट २ करोड १९ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरका ४ युनिट टेस्लाका विद्युतीय कार नेपाल भित्रिएका छन् ।

भन्सार तथ्यांकमा २०० किलोवाटदेखि ३०० किलोवाट पीकपावर क्षमता भएका टेस्लाका ४ कार आयात भएका हुन् । यी ४ वटा कारमा सरकारले ३ करोड २ लाख २५ हजार रुपैयाँ भन्सार र अन्तःशुल्क वापत राजश्व पाएको छ । यी ४ वटै कार टेस्ला मोडल वाई हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत ईभीको कर बढाएको कारण टेस्लाका कारमा ४५ प्रतिशत भन्सार, ४५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ । त्यसमा थप १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्छ ।

सरकारले ३०० किलोवाट क्षमता माथिका मोटर क्षमता भएका सवारी साधनमा ६० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने ब्यवस्था गरेको छ ।

टेस्लाले चीनको संघाईमा गिगा फ्याक्ट्री संचालनमा ल्याएसँगै चीनमा उत्पादन भएका टेस्लाका कार नेपाल आउने चर्चा चलेको थियो । अरेटी इन्टरनेशनलले पुसबाट चिनियाँ उत्पादन आयात सुरु गरेको हो ।


Back_to_top