सडकमा गुड्न थालेको एक वर्षमा यात्रीले पाएन नम्बर प्लेट, यस्तो छ कारण

काठमाडौं । नेपाली युवा उद्यमी र इन्जिनियरहरुको प्रयासमा बनेको यात्री मोटरसाइकलले अहिलेसम्म नम्बर प्लेट पाउन सकेको छैन । उत्पादन सुरु भएको ३ वर्ष भएपनि उसको उत्पादन यातायात कार्यालयमा दर्ता हुन नसकेको हो ।

अहिले यात्रीले उत्पादन गरेको पी-१ मोटरसाइकल १०० यूनिटभन्दा धेरै सडकमा गुडिरहेका छन् । तर, ती मोटरसाइकलमा नम्बर प्लेट छैन ।

नेपाल सरकारले यही उत्पादन भएका मोटरसाइकलको दर्ता कसरी र कुन विधिमा गर्ने भन्ने एकिन गरेर ऐन निर्माण नगरेको कारण नम्बर प्लेट पाउन नसकेको यात्री मोटरसाइकल कम्पनीले बताएको छ ।

‘नेपालमा यसअघि कुनै पनि कम्पनीले मोटरसाइकल उत्पादन नगरेको कारण ऐन नियममा स्पष्ट ब्यवस्था भएको थिएन, त्यसैले हाम्रो मोटरसाइकल दर्ता हुन सकेन’, कम्पनीका सीईओ वत्सल पाण्डेले मेरोअटोसँग भने ।

सवारी तथा यातायात ऐन २०४९ का अनुसार बाहिरी देशबाट आयात गरी नेपाल ल्याएको सवारी साधन मात्रै नेपालमा दर्ता गर्न सकिने प्रावधान रहेको छ । नेपालमा नै उत्पादन भएको मोटरसाइकलको प्रज्ञापन पत्र नभएको कारण दर्ता गर्न नमिलेको हो ।

‘हामीले हाम्रो तर्फबाट यातायात विभाग र मन्त्रालयमा हाम्रा कुरा राखेका छौं विभाग र मन्त्रालयले दर्ता प्रक्रियाको काम अघि बढेको जनाकारी दिएका छन्’, सीईओ पाण्डेले भने ।

नेपालमा नै उत्पादन भएको सवारी साधनको दर्ताको लागि आवश्यक कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको कारण अबको केही दिनमा नै दर्ता सुरु हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।


Back_to_top