नयाँ क्रेटाको मूल्य सार्वजनिक, यस्तो छ भेरियन्ट अनुसारको मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०२३ क्रेटाको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले पेट्रोल इन्जिनमा विभिन्न ६ भेरियन्टको मूल्य सार्वजनिक गरेको हो ।

नेपालकै सर्वाधिक सफल मध्येको एउटा एसयूभीको पहिचान बनाएको क्रेटामा १.५ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड इन्जिन पाउन सकिन्छ । निकै स्मुद इन्जिन भएकै कारण सन् २०१६ देखि निरन्तर यसले ग्राहकको चाहना पुरा गर्न सफल हुँदै आएको छ ।

अघिल्लो वर्ष भएको लकडाउन र त्यसपछि चीप सर्टेजका कारण क्रेटाको सप्लाईमा समस्या देखिएको थियो । त्यो समयदेखि नै नेपालमा क्रेटाको सप्लाई राम्रोसँग हुन सकेको थिएन । त्यसपछि भएको आयात प्रतिबन्ध र तरलता अभावले क्रेटा किन्न चाहेर पनि ग्राहकले पाउन सक्ने अवस्था थिएन ।

पुस १ गतेबाट आयात प्रतिबन्ध हटेसँगै कम्पनीले २०२३ क्रेटा नेपाल ल्याएर विक्री सुरु गर्ने तयारी गरिरहेको छ । कम्पनीले त्यही तयारी स्वरुप नयाँ क्रेटाको मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यमा क्रेटा ई भेरियन्टको मूल्य ५२ लाख ५६ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, क्रेटा एस भेरियन्टको मूल्य ५९ लाख ९६ हजार र एस प्लस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ भएर आएको छ ।

क्रेटाको माथिल्लो भेरियन्टहरु एसएक्सको मूल्य ६७ लाख ५६ हजार, एसएक्स (सीभीटी)को मूल्य ७४ लाख ५६ हजार र एसएक्स (अप्सनल) सीभीटीको ७८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नयाँ क्रेटामा सुरक्षा फिचर केही थप भएर आउने अनुमान गरिएको छ । त्यसको विषयमा भने कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन । हुन्डाईले २०२३ क्रेटाको स्टायडर्ड भेरियन्टमा नै ६ वटा एयरब्याग दिएर भारतमा सार्वजनिक गरेको थियो ।

साथै, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, हाइट अनुसार मिलाउन मिल्ने सिट बेल्ट जस्ता फिचर नयाँ क्रेटामा पाउन सकिने छ ।


Back_to_top