काठमाडौं । आधिकारीक बिक्रेता परिवर्तनसँगै सीएफ मोटोले आक्रमक बजार बिस्तारमा लाग्ने देखिएको छ । नयाँ आयातकर्ता कम्पनी ऋषि ट्रेड सेन्टरले इलेक्ट्रीक स्कुटरदेखि एड्भेन्चर मोटरसाइकलसम्मको बिक्री गर्ने भएको हो ।
सीएफ मोटोमा नयाँ ग्रुप रिलायन्सको प्रवेशसँगै कम्पनीले इलेक्ट्रीक स्कुटर जिहो ल्याएर बिक्री सुरु गरेको थियो । रिलायन्स ग्रुपको एलक स्वामित्वमा कम्पनीले जिहो ब्रान्डको दुई मोडलका इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ ।
कम्पनीले निकट भविष्यमा नै सीएफ मोटोका मोटरसाइल नेपाल ल्याएर बिक्री सुरु गर्ने योजना बनाएको छ । कम्पनी स्रोतका अनुसार नेपालमा धेरै बिक्री हुने २५० सीसी सेग्मेन्टमा २५० एनके र अर्को एक नयाँ मोडल ल्याउने तयार भइरहेको छ ।
बढ्दो एड्भेन्चर बजारमा प्रबेश गर्ने योजना
नेपालमा बढ्दो एड्भेन्चर टूरिङ कल्चरका कारण कम्पनीले ४५० सीसी सेग्मेन्टको मोटरसाइकल ल्याउने तयारी थालेको बुझिएको छ ।
टफ टेरानका लागि निर्माण गरिएको ४५० एमटी एड्भेन्चर मल्टि टेरेनमा राइडका लागि सक्षम मोटरसाइकल हो । डबल पर्पस टायरसहित आउने यो मोटरसाइकलमा ४५० सीसी, ट्वीन सिलिन्डर इन्जिन दिइएको छ ।
यसमा दिइएको ४९९ सीसी क्षमताको इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा ४४ एचपी पावर र ६ हजार २५० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियर भएको मोटरसाइकलमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर छन् ।
यो सेग्मेन्टमा नेपाली बजारमा बीएमडब्लू जी ३१० जीएस, केटीएम ३९० एड्भेन्चर जस्ता मोटरसाइकल बिक्री भइरहेका छन् ।

