स्काइवेलको इलेक्ट्रीक एसयूभी १२ किलोमिटर चलाएपछि…

काठमाडौं । जी मोटर्सले नेपाल ल्याएको स्काइवेल ईटी-फाइभ एसयूभीलाई झण्डै १२ किलोमिटर चलाएर हेरेपछि रेन्जको कारण चिन्ता लिनु नपर्ने देखियो । भक्तपुरको राधेराधे, बोडे, मूलपानी हुँदै नक्शालसम्म यसलाई चलाएपछि यसको सबैभन्दा बलियो पक्ष रेन्ज नै हो भन्न कन्जुस्याइँ गर्नु पर्दैन ।

कारमा औसत ७२ किलोग्रामका ४ जान बसेर एसीसहित यात्रा गरिएको थियो । यस दौरान केबल २ प्रतिशत चार्ज खर्च भयो । राधेराधेबाट सिधै कोटोश्वरको बाटो नआई अर्को बाटो रोज्नुको कारण त्यहाँ पर्ने उकालो बाटोमा गाडी चलाएर हेर्नु थियो । त्यसमा पनि ब्याट्री खर्च कम देखियो ।

छोटो यात्रामा भएको ब्याट्री खपतलाई आधार मान्दा ठूलो साइजको गाडी भएर पनि यसले राम्रै रेन्ज दिने देखियो । यसले धेरै रेन्ज दिनुमा यसमा रहेको ठूलो ब्याट्री मुख्य कारण हो ।

अहिले कम्पनीले दाबी गर्दै आएको रेन्ज एनईडीसीले गरेको टेष्टमा आधारित छ । तर, गाडीमा डब्ल्यूएलटीपी रेन्ज भनेर देखाउँछ । जुन एनईडीसीकोभन्दा कम थियो । सुरूमा हामीले गाडीको बारेमा जानकारी लिने समयमा ९८ प्रतिशत चार्जमा ४७८ किलोमिटर डब्लूएलटी रेन्ज भनेर देखाएको थियो । ईटी-फाइभमा ८६ किलोवाट आवरको लिथियम टर्नरी ब्याट्री दिइएको छ ।

जे होस् बजारमा उपलब्ध ईभी मध्ये ईटी-फाइभले राम्रो रेन्ज दिने देखिएको छ । यसको अलावा १९७ एमएमको ग्राउन्ड क्लियरेन्स र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्ने छ । यसको सबैभन्दा बलियो पक्ष यिनै हुन् ।

पावर राम्रो छ । १५० किलोवाटकै मोटरमा ल्याइएको कारण पावरमा सम्झौता हुँदैन । अझ भनौं यसको ‘पावर टु वेट’ रेसियो पर्फेक्ट छ ।

गाडीमा धेरै कुरा फिजिकल बटमको प्रयोगबाटै संचालन गर्न पाइन्छ । रिजेन लेभललाई अहिलेसम्म धेरै कम्पनीले १, २ वा ३ भनेका थिए । केहीले लो, मिडियम र हाई भन्दै आएका छन् । तर, ईटी-फाइभमा प्रतिशतको प्रयोग गरिएको छ । आफूलाई कति प्रतिशतमा राख्दा चलाउन सजिलो हुन्छ, त्यही अनुसार सेट गर्न पाइन्छ । स्टेरिङको सेटअप पनि तीन तरिकाले गर्न पाइन्छ ।

निकै ठूलो र फराकिलो क्याबिन भएको कारण यात्रुलाई निकै आरामदायी यात्रा गराउन सक्षम छ । स्काइवेल ईटी-फाइभ एक करोडभन्दा माथिका इलेक्ट्रीक एसयूभी खोज्नेले एक पटक टेष्ट ड्राइभ गरेर हेर्न पर्ने एसयूभी हो ।


Back_to_top