बीमा क्षेत्रमा ‘भीआईपी अन दी स्पट’ले नयाँ बेन्चमार्क क्रिएट गरेको छः चंकी क्षेत्रीको अन्तर्वार्ता

संसारमै आधुनिक बीमाको सुरुवातसँगै निर्जीवन बीमा ब्यवसायमा सबैभन्दा ठूलो हिस्सा मोटर बीमाको रहँदैआएको छ । नेपालमा पनि कुल बीमा ब्यवसायको करिब ५२ प्रतिशतको हाराहारीमा मोटर बीमाले ओगटेको छ । यस्तोमा सगरमाथा इस्योरेन्स कम्पनीले करिब डेढ वर्ष अगाडि ‘भीआईपी अन दी स्पट’ नामक बीमालेख सार्वजनिक गरेसँगै बजारमा अन्य कम्पनीले समेत विभिन्न नामबाट यस्तै बीमालेख ल्याएका छन् । ‘भीआईपी अन दी स्पट’ कन्सेप्ट कसरी, आयो, यसको बजारीकरण र कम्पनीको भाबी योजनाकाबारेमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्रीसँग गरिएको कुराकानीको सारसंक्षेपः

तपाईंहरूले डेढ वर्ष अगाडि ल्याउनुभएको ‘भीआईपी अन दी स्पट’को बजार प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

निकै राम्रो प्रतिक्रिया पाइरहेका छौं । सुरुका दिनमा ‘भीआईपी अन दी स्पट’ भन्दा महत्वपूर्ण मानिसको लागिमात्रै हो कि भन्ने सुनिएको थियो । आज पनि पूर्णरुपमा मानिसले बुझिसकेका छैनन् । ‘भीआईपी’ भनेकोचाहिँ भेइकल इन्स्योरेन्स पोलीसी हो । दुर्घटना भएपछि सोही स्थलमा गएर क्षति मूल्याङ्कन र केही रकमसमेत हस्तान्तरण गर्ने भएकाले ‘अन दी स्पर्ट’ भनिएको हो । सुरुवात काठमाडौंबाट गरिएको भए पनि अहिले काठमाडौं बाहिरका मुख्य–मुख्य सहरहरूमा यो सेवा लगिसकेका छौं । सबै ठाउँबाट यसको अत्यन्त राम्रो रेस्पोन्स पाइरहेका छौं । 

हामीले यसको विस्तार सुरु गरेसँगै अन्य कम्पनीहरू पनि यस्तै किसिमका प्रडक्टहरू लिएर आइरहेका छन् । अब सबैले मोटर बीमालाई सहज छिटो र ब्यवस्थित तरिकाले सेवा दिन सकिन्छ भन्ने बुझेका छन् । यो हामीले ल्याएको ‘भीआईपी अन दी स्पट’को कारणले बीमा क्षेत्रलाई नै फाइदा पुगेजस्तो लाग्छ । 

उपत्यकामा कस्तो रेस्पोन्स पाउनुभयो ?

काठमाडौंमा रेस्पोन्स राम्रो भएकाले नै बाहिर सेवा बिस्तार गर्दै लगेका हौं । यहाँ हामीले भनेका सबै कुरा पूरा गर्यौं । तर, तुरुन्तै सम्पूर्ण पेइमेन्ट भने सकिएन । भ्याटलगायतका विषयले तुरुन्त भुक्तानीमा केही समस्या आयो । हामीकहाँ भएका दुर्घटनामा सडकमा नै सवारीसाधन राखेर केश सेटल गर्न कठिन हुने हुनाले ग्यारेजमा लगेर तीन पक्षबीच छलफल गरी लाग्ने खर्च टुङ्ग्याउने गरेका छौं । विदेशमा राति धेरै दुर्घटना हुने गरेका छन् । हामीकहाँ नाइट लाइफ छैन, रातिको दुर्घटनादर कम भएकाले पनि काम गर्न सजिलो छ । अहिले राति ११ बजेसम्मको समस्या आउँदा हाम्रो टिम पुगिरहेको हुन्छ । बीमाको काम पनि त्यही हो समस्या पर्दा परिवारभन्दा पनि पहिला पुगेर त्यहाँको स्थिति र वातावरणअनुसार कामगर्ने हुँदा ग्राहकलाई परिवारभन्दा अगाडि बीमा आउँछ भन्ने सन्देश प्रवाह गरेको छ । हामीले ग्राहकको साथमा बीमा छ भन्ने महसूस होस् भनेर नै एउटा भीआईपी कार्ड बीमितलाई दिने गरेका छौं । 

कार, जीप, भ्यान, मोटरसाइकलजस्ता साधनलाई हामीले सुरुदेखि नै सेवा दिइरहेका छौं । अब ट्याक्सीमा सुरु गरेका छौ ।

कसरी जन्मियो, यस्तो किसिमको आईडिया ?

यो हामीले यहाँ नै जन्माएको आईडिया होइन । तर, यसलाई यहाँको वस्तुस्तिथिमा भने हामीले ढालेका हौं । हाम्रो ज्वाइन्ट भेञ्चर कम्पनी सिलोन इन्स्योरेन्स कम्पनीले यस्तो किसिमको प्रडक्ट धेरै पहिलादेखि बिक्री गर्दैआइरहेको थियो । उनीहरूले माल्दिभ्स, थाइल्याण्डजस्ता देशमा उनीहरूले यो सेवा विस्तार गरिसकेका थिए । अनि, हामीले यसलाई नेपाल ल्याएका हौं । हामीले पछिल्लो समयमा ल्याइएकाले पनि यो सेवा निकै एड्भान्स छ ।

सिलोनले अहिले दैनिक ५०० वटा केश हेर्न सक्ने गरी आफ्नो क्षमता बढाइरहेको छ । कम्पनीले १३० जना कर्मचारी यस्तो कलसेन्टरको लागि छुट्याएको छ । यो सेवा सबै ठाउँमा २४ सै घन्टा उपलब्ध हुनेछ । इञ्जिनियरको टिम नै करिब १०० जनाको रहेको छ । त्यसैले हामीले पनि नेपालमा यसको जरुरत र सम्भावना देखेर ल्याएका हौं । अहिले १० जना इञ्जिनियरलगायतको प्राविधिक टिम निर्माण गरेर हामीले काम सुरु गरिरहेका छौं । 

उपत्यका बाहिर कसरी विस्तार गर्दै हुनुहुन्छ ?

मोटरको चापलाई हेर्दै त्यहीअनुसार विस्तार गर्दैआएका छौं । 

डेढ वर्ष भयो, अब यसमा केही परिर्वतन गर्नुपर्ने देख्नुभएको छ ?

प्रडक्टहरू हामीले हाम्रो देशको पूर्वाधारदेखि अन्य विषयलाई हेरेर परिमार्जन गर्दै जाने कुरा हो । अहिले लागत वा खर्च निर्धारण भएको सयमले २४ घन्टाभित्र हामीले दाबी भुक्तानी गर्दैआएका छौं । यसमा हामीले कुनै बीमितको एकाउन्ट नम्बर लिएर सिधैं खातामा पैसा हालिदिनेसमेत गर्दैआएका छौं । जसले बीमा कम्पनी धाउने झन्झटबाट मुक्त हुन सहयोग पुग्छ । 

अहिले ‘भीआईपी अन दी स्पट’ सेवा कस्ता–कस्ता सवारीसाधनले लिन पाउँछन् ?

कार, जीप, भ्यान, मोटरसाइकलजस्ता साधनलाई हामीले सुरुदेखि नै सेवा दिइरहेका छौं । अब ट्याक्सीमा सुरु गरेका छौ । ठूला सवारीसाधनमा अल्ली कठिनाई देखिएको छ । त्यसलाई कसरी समेट्ने भनेर हामीले वर्कआउट गरिरहेका छौं । 

‘भिआईपी’ कार्ड कति वितरण भयो अहिलेसम्म ?

‘भीआईपी अन दी स्पट’ कार्ड हामी सबै बीमालेख किन्ने ग्राहकलाई दिइरहेका छौं । फेरि अहिले सवारीसाधनले अनिर्वायरुपमा बीमालेखको पेपर बोकेर हिँड्नुपर्ने भएकाले हाम्रो कार्ड पर्समा राखेर हिँड्न सजिलो पनि भएको छ । ट्राफिक प्रहरीहरूले समेत हाम्रो कार्ड राम्रोसँग चिनिसकेका छन् । कार्ड देखाए उनीहरूले बुझ्ने भइसकेको छ । हामीले मोटर बीमालेख करिब ६० हजार बिक्री गरेका छौं । तेस्रो पक्ष बीमाको लागिमात्रै हामीले यो कार्ड दिँदैनौं । त्यसैले करिब ४० हजार कार्ड बिक्री गरेका छौं । हरेक बर्ष यो कार्ड परिवर्तन गर्नुपर्ने हुन्छ ।  


Back_to_top