अत्याधुनीक चार्जिङ स्टेशन निर्माण गर्दै सुन्दर यातायात

काठमाडौं । सुन्दर यातायातले अत्याधुनीक सुविधा सहितको चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । कम्पनीले बनाउने चार्जिङ स्टेशनमा आराम गर्न, बस्न, रमाइलो गर्न मिल्नेलगायतका पूर्वाधार रहने भएको हो । 

चार्जिङ स्टेशन बन्ने क्षेत्र ठूलो फराकिलो हुने र त्यहाँ सवारी चार्ज गर्न लाग्ने समयभर ड्राइभर तथा सहचालकले पर्खिनु पर्ने भएकाले अत्याधुनिक सुविधा सहितको चार्जिङ स्टेशन निर्माण गर्न लागिएको सुन्दर यातायातले जनाएको छ । 

कम्पनीको वेभ साइट लञ्च गर्दै कम्पनीले चार्जिङ स्टेशनको डिजाइन समेत सार्वजनिक गरेको हो । 

वेभसाईट सार्वजनिक कार्यक्रममा बोल्दै यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले सुन्दर यातायातले ल्याएको सवारीले देशलाई पेट्रोलीय पदार्थ आयात कम गर्न सघाउने र वातावरणमा सहयोग पुर्याउने बताएका थिए । 

उनले सरकारले समेत विदुतीय बस सञ्चालनमा प्राथमिक्ता दिएको बताउँदै यसमा निजी क्षेत्रले समेत चासो देखाएकोमा सरकारले आफ्नो तर्फबाट सहयोग गर्ने बताए । 

यस्तै काठमाडौं महानगर पालिकाका मुख्य प्रशासक अधिकृत केदार न्यौपानेले सुन्दर यातायातले देशलाई पनि सुन्दर बनाउन सहयोग पुराउने बताए । 

उनले सुन्दर यातायातले ल्याउन लागेको विद्युतीय सवारी एउटा सुन्दर अभियानको रुपमा आएकोमा खुसी व्यक्त गरे । 

सरकारको विद्युतीय सवारी सञ्चालनलाई साथ दिनका लागि सबैले आफ्नो क्षेत्रबाट योगदान पुराउन उनले आह्वान गरे । 

सुन्दर यातायातले सुरुको चरणमा उपत्यका भित्र सुकेधार, सितापाइला र कालोपुलमा गरी ४ वटा चार्जिङ स्टेशन चाँडै सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । 


Back_to_top