चेरीको ब्याट्रीले सिंगल चार्जमा १५ सय किलोमिटर रेन्ज दिने

काठमाडौं । चिनिया अटो जायन्ट चेरीले सन् २०२६ सम्ममा ‘अल सोलिड स्टेट ब्याट्री’ बजारमा ल्याउने भएको छ । कम्पनीले गतसाता गरेको ‘चेरी ग्लोबल इनोभेसन कन्फ्रेन्स’मा सिंगल चार्जमा १५०० किलोमिटर रेन्ज दिने ब्याट्री ल्याउने घोषणा गरेको हो ।

कम्पनीका अनुसार नयाँ ब्याट्री ‘कुनपेङ’ ब्राण्ड नामबाट आउने छ । चेरीले देखाएको ३ वटा सिरिजको ब्याट्री ‘सिक्स–सी४ चार्जिङ क्यापासिटीको हुनेछ । जसमा मात्र ५ मिनेटमा ४०० किलोमिटरको रेन्ज पाउन सकिन्छ ।

चेरीले घोषणा गरेको सोलिड स्टेट ब्याट्री हो । अहिले देखाएको नयाँ ब्याट्रीमा ४०० वाटआवर प्रतिकेजी इनर्जी डेन्सीटी पाउन सकिन्छ । कम्पनीले सन् २०२५ सम्ममा उक्त ब्याट्रीमा ६०० वाटआवर इनर्जी डेन्सीटी रहने जनाएको छ ।

नयाँ ब्याट्री प्रयोग गरी सन् २०२६ सम्ममा गाडी बजारमा ल्याउने चेरीको योजना छ । चेरीले अहिले देखाएको कुनपेङ ब्राण्डमा स्क्वायर लिथियम आइरन फस्फेट, स्क्वायर टर्नरी र लार्ज सिलीण्ड्रीकल टर्नरी ब्याट्री रहेको छ ।

चेरीको सोलिड स्टेट ब्याट्रीले माइनस ३० देखि ६५ डिग्री सेन्ट्रीग्रेडसम्म उत्कुष्ट पर्फर्मेन्स दिनेछ । यो सिरीजको ब्याट्रीको ३ हजार चार्जिङ साइकल रहेको छ ।

चेरीले गत सेप्टेम्बरमा ६० हजार न्यू इनर्जी भेहिकल बिक्री गरेको थियो । कम्पनीले अक्टोबरमा ८० हजार तथा डिसेम्बरसम्ममा मासिक १ लाख ईभी बिक्री गर्ने लक्ष्य राखेको छ ।


Back_to_top