काठमाडौं । सवारी उत्पादन र निर्यातमा अगाडि रहेको जापान, जर्मनी जस्ता देशलाई उछिन्दै चीन यसवर्षको सबैभन्दा ठूलो सवारी साधन निर्यातकर्ता बनेको छ ।
सन् २०२३ को पहिलो त्रैमासिक अवधिमा कुल १० लाख ६९ हजार युनिट सवारी साधन निर्यात गर्दै चीन पहिलो पटक विश्वको सबैभन्दा ठूलो सवारी साधन निर्यातकर्ता बनेको हो ।
अघिल्लो वर्षको यहि अवधिमा जापानले कुल १० लाख ४७ हजार युनिट सवारीसाधन निकासी गर्दै विश्वको अग्रणी सवारी साधन निर्यातकर्ता बनेको थियो ।
ब्राण्डका आधारमा निर्यात तथ्यांक हेर्ने हो भने, एसएआइसी ग्रुप, टेस्ला, चेरी, गिली, ग्रेटवाल मोटर्स, चांगन र बीवाइडीका उत्पादन सबैभन्दा धेरै निर्यात भएका हुन् । यसमा पनि पछिल्लो समयमा एसएआइसीले एमजी जस्ता ब्रान्डबाट उल्लेख्य संख्यामा सवारी निर्यात गर्दै अग्रणी स्थान बनाउन विशेष योगदान गरेको हो ।
विभिन्न ब्राण्डले अप्रिल महिनामा मात्रै ३ लाख ७६ हजार युनिट कारहरु निर्यात गरेका थिए । चाइना एशोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चररका अनुसार चीनबाट मासिक निर्यात ३.३ प्रतिशत र वार्षिक १७० प्रतिशतसम्मले वृद्धि भएको छ ।
चीनबाट सबैभन्दा धेरै गाडी निर्यात भएका देशमा रूस, संयुक्त राज्य अमेरिका, मेक्सिको, बेलायत, बेल्जियम, जापान, अष्ट्रेलिया, जर्मनी, संयुक्त अरब इमिरेट्स र दक्षिण कोरिया चीनले निर्यात गर्ने शीर्ष दस देश हुन् ।
सन् २०२३ को तीन महिनाको निर्यात तथ्यांकको आधारमा यो वर्ष चीनले ४० लाख पुग्ने प्रक्षेपण गरेको छ । यस्तै अवस्था हुने हो भने, सन् २०२३ को अन्त्यसम्ममा चीनले जापानलाई उछिनेर विश्वको सबैभन्दा ठूलो अटो निर्यातकर्ता बन्ने सम्भावना धेरै छ भन्दा फरक नपर्ला ।