काठमाडौं । चीनले विद्युतीय सवारी साधन (ईभी)को सुरक्षालाई ध्यानमा राख्दै अहिलेसम्मकै कडा नयाँ राष्ट्रिय सुरक्षा मापदण्ड लागू गर्ने भएको छ ।
चीन सरकारले ब्याट्री र सवारी साधन दुवैको सुरक्षालाई समेट्ने गरी जुलाइ १ देखि दुईवटा अनिवार्य ऐतिहासिक मापदण्डहरू एकैसाथ लागू गर्ने भएको हो ।
चीनले इलेक्ट्रीक भेहिकल ट्रयाक्सन ब्याट्री सेफ्टी रिक्वाइरमेन्ट्स (जीबी ३८०३१-२०२५) र इलेक्ट्रीक भेहिकल सेफ्टी रिक्वाइरमेन्ट्स (जीबी १८३८४-२०२५) मापदण्ड लागू गर्ने भएको हो । पहिलो मापदण्डले ट्रयाक्सन ब्याट्री र दोस्रोले समग्र सवारी साधनको सुरक्षामा केन्द्रित छ ।
नयाँ नियम अनुसार अब चीनमा उत्पादन हुने ईभी ब्याट्रीहरूमा आगो नलाग्ने र विस्फोट नहुने (नो फायर, नो एक्सप्लोजन) मापदण्ड अनिवार्य हुनेछ । यो ब्याट्री सम्बन्धी विश्वकै हालसम्मकै कडा मापदण्ड हो ।
पुराना मापदण्डहरूमा ब्याट्रीको एउटा सेल अत्यधिक तातेर बिग्रिएमा (थर्मल रनअवे भएमा) ट्रयाक्सन ब्याट्रीमा आगो लाग्न वा विस्फोट हुन छुट थियो । तर, गाडीमा सवार यात्रुहरूलाई कम्तीमा ५ मिनेट अगाडि नै चेतावनी दिनुपर्ने व्यवस्था थियो। तर, नयाँ नियमले प्रणालीगत रूपमै पूर्ण सुरक्षाको माग गर्दछ। अबदेखि ब्याट्रीको एउटा मात्र सेल अत्यधिक तातेर बिग्रिए पनि पूरा ब्याट्री प्रणाली आगो नलाग्ने र विस्फोट नहुने हुनुपर्ने अनिवार्य नियम बनाइएको छ ।
नयाँ नियमले कमजोर क्षमताका कमसल ब्याट्री उत्पादनलाई बजारबाट विस्थापित गर्नेछ भने ठूला र एलएफपी ब्याट्री उत्पादकलाई फाइदा पुर्याउनेछन् ।
सवारी साधनको वास्तविक अवस्था र सडक दुर्घटनाहरूलाई मध्यनजर गर्दै नयाँ मापदण्डमा दुईवटा विशेष परीक्षणहरू अनिवार्य गरिएको छ । पहिलो, बटम इम्प्याक्ट गाडीको तल्लो भागमा ढुङ्गा वा अन्य वस्तुले लाग्ने ठक्करको प्रतिरोध क्षमता र दोस्रो धेरै पटक गरिने अल्ट्रा फास्ट चार्जिङले ब्याट्रीमा पार्ने प्रभाव परीक्षण गर्नुपर्नेछ ।
त्यसैगरी, सवारी साधनको सुरक्षातर्फ पनि ठूलो फेरबदल गरिएको छ । पहिले गम्भीर दुर्घटना हुँदा सफ्टवेयर प्रणाली बिग्रिएर गाडीको बिजुली प्रवाह (पावर कट ऑफ) बन्द नहुने जोखिम हुन्थ्यो । अब त्यसलाई हटाएर चालकले एक सेकेण्डभित्रै गाडीको सम्पूर्ण हाई भोल्टेज विद्युत प्रणालीलाई भौतिक रूपमै विच्छेद गर्न सक्ने स्वतन्त्र ‘वान टच पावर कट’ बटन अनिवार्य गरिएको छ। यो बटनले गाडीको सफ्टवेयर बिग्रिए पनि स्वतन्त्र रूपमा काम गर्नेछ ।
चाइना अटोमोटिभ न्युजमा प्रकाशित एक रिपोर्ट अनुसार चाइना एशोसिएशन अफ अटोमोबाइल म्यान्युफ्याक्चरर्सको न्यू इनर्जी भेहिकल ब्याट्री शाखाका कार्यकारी महासचिव लिउ काईले दुर्घटनापछि गरिने व्यवस्थापनभन्दा दुर्घटना नै हुन नदिन नयाँ मापदण्ड ल्याइएको बताएका छन् । ‘यो दुर्घटना भइसकेपछि गरिने व्यवस्थापनबाट हटेर दुर्घटना हुनै नदिने अग्रिम रोकथाम तर्फको ठूलो बदलाव हो,’उनले भनेका छन् ।
लिउका अनुसार यसले प्रणालीगत थर्मल सुरक्षा व्यवस्थापनमा अझ कडा आवश्यकताहरू थपेको छ । जसको उद्देश्य ब्याट्री तात्ने वा विस्फोट हुने कारणले यात्रुहरूको सुरक्षामा पर्न सक्ने सम्भावित खतरालाई सुरूमै निर्मूल पार्नु हो ।
लागत बढ्ने
नयाँ मापदण्डले ईभीको ब्याट्रीको लागात बढ्ने भएको छ । एक बजार अनुसन्धान संस्थाको अनुमानलाई उद्धृत गर्दै चाइना अटो न्युजले जनाए अनुसार नयाँ नियमहरू पालना गर्दा ब्याट्री प्रणालीको लागत १५ प्रतिशत देखि २० प्रतिशतसम्म बढ्नेछ । जसकारण एउटा गाडीको ब्याट्री प्याकमा करिब ४४० डलरदेखि ७३५ डलरसम्मको अतिरिक्त लागत थपिनेछ ।
साना कम्पनी विस्थापित हुने
यो नियमले पहिले नै योजना बनाएका ठूला कम्पनीहरू सीएटीएल, इभ इनर्जी लगायतलाई खासै प्रभाव पर्दैन । तर, साना तथा मध्यमस्तरका ब्याट्री उत्पादक र सस्तो मोडलका गाडी बनाउने कम्पनीहरूलाई भने ठूलो आर्थिक भार बढ्ने छ । जसले गर्दा बजारमा कमसल ब्याट्री आपूर्ति गर्ने कम्पनीहरू विस्थापित हुने देखिन्छ ।
लिउका अनुसार यो नयाँ नियमले कम्पनीहरूलाई ब्याट्री सेलको सामग्रीदेखि ब्याट्री म्यानेजमेन्ट सिस्टमको एल्गोरिदमसम्म सबै कुरा व्यवस्थित रूपमा पुनर्संरचना गर्न बाध्य पार्नेछ । जसले केबल एसेम्बल मात्र गर्ने वा कम गुणस्तरका सेलहरूमा भर पर्ने कम्पनीहरूको अस्तित्व संकटमा पार्नेछ ।
चीनको नेश्नल पावर ब्याट्री इनोभेसन सेन्टरका उपनिर्देशक मा सियोलीका अनुसार चिनियाँ ईभी उद्योग अब तीव्र वृद्धिबाट हटेर गुणात्मक र संरचनात्मक स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ।
सन् २०२६ का लागि आन्तरिक ट्रयाक्सन ब्याट्रीको जडान माग वार्षिक रूपमा १५.८ प्रतिशतले बढेर ८८८.७ गेगावाट आवर पुग्ने अपेक्षा गरिएको छ । यो वृद्धिदर सन् २०२५ मा रेकर्ड गरिएको ४०.३५ प्रतिशतको तुलनामा निकै कम हो।


